रुकुम । रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकामा श्रीमानले श्रीमती र छोराको हत्या गरेको छ ।
शनिवार राति २ बजे त्रिवेणि गाउँपालिका–१ का ४९ वर्षीय सत्तबहादुर बुढाले ४२ वर्षीया श्रीमती इन्द्रकला बुढा र ११ वर्षीय छोरा स्वयमप्रकाश बुढाको हत्या गरेको हो ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काका अनुसार श्रीमतीको भरुवा बन्दुकले गोली हानेर र छोराको भने खुकुरीले घाँटी रेटेर हत्या गरेको हो ।
श्रीमती र छोराको हत्यापछि आफूले पनि घाँटी रेटेको अवस्थामा सत्तबहादुर घाइते अवस्थामा भेटिएको डिएसपी खड्काले बताए ।
आमा छोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतवार बिहान गाउँलेले घटनाबारे प्रहरीलाई बताएका थिए ।
बुढाले मदिरा सेवन गरी श्रीमती र छोराको हत्या गरेको बुझिएको र बाँकी अनुसन्धान गर्न बाँकी रहेको खड्काको भनाइ छ । बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्थानीयवासीले भने बुढा मानसिक रूपमा स्वस्थ नरहेको बताएका छन् । बुढा यसअघि पाँच दिन जङ्गलमा बसेका थिए । परिवारले खोजी गरी घर ल्याई धामीझाँक्री गरेको र उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेका बेला घटना भएको स्थानीयवासीको भनाइ छ ।
बुढा परिवारमा यसअघि पनि पटकपटक झगडा हुने गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया