काठमाडौं । धनुषा जिल्लाबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ यस पटक श्रीमान्–श्रीमती नै निर्वाचित भएका छन् ।
त्यो पनि एकै पार्टीको टिकटमार्फत् । नेकपा (एमाले) बाट धनुषा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा उम्मेदवार रहेका एमाले सचिव रघुवीर महासेठ र केन्द्रीय सदस्य जुली महतो एकसाथ निर्वाचित भएर सांसद चुनिएका हुन् ।
पति रघुवीरले क्षेत्र नम्बर ४ मा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवलाई १२४ को झिनो मतान्तरले हराएका हुन् । रघुवीरले ३२ हजार दुई सय ३६ मत ल्याउँदा महेन्द्रले ३२ हजार एक सय १२ मात्र मत पाए । २०७४ को चुनावमा पनि रघुवीरले महेन्द्रलाई हराएका थिए ।
पत्नी जुलीले भने धनुषा ३ मा पाँच दलीय गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई ९६६९ मतान्तरले पराजित गरेकी थिइन् ।
उनले ३३ हजार ३ सय ५५ मत पाउँदा झाले २३ हजार ६ सय ८६ मात्र मत पाए ।
समानुपातिकबाट दुई पटक सांसद रहेकी जुली पहिलो पटक प्रत्यक्षमा निर्वाचित भएकी हुन् । श्रीमान्–श्रीमती दुवै मन्त्री भइसकेका छन् ।
यसअघि पञ्चायतकालमा धनुषाबाटै यसैगरी श्रीमान्–श्रीमती नै चुनाव जितेर रेकर्ड बनाउनेमा ‘शेरे धनुषा’ का नामले चर्चित हेमबहादुर मल्ल र पत्नी शारदा मल्ल थिए । २०४३ को राष्ट्रिय पञ्चायत सदस्य (रापंस) निर्वाचनमा दम्पत्ति नै विजयी हुँदा हेमबहादुरले त नेपाली निर्वाचनको इतिहासमै सबैभन्दा बढी मत ल्याएुर जित्ने रेकर्ड बनाएका छन् । जसको रेकर्ड आजसम्म पनि कसैले तोड्न सकेको छैन ।
२०४३ को निर्वाचनमा ९३ हजार १ सय ४९ मत ल्याउँदै हेमबहादुर मल्ल धनुषाबाट अत्याधिक मतले रापंस चुनिँदा सँगसँगै श्रीमती शारदालाई पनि विजयी बनाएका थिए । शारदाले भने ५३ हजार ९ सय ९६ मत पाएकी थिइन् । ‘बालिग मताधिकार’ का आधारमा गरिएको पञ्चायतको पहिलो चुनाव २०३८ मा पनि उनै मल्लले धनुषाबाट ७६ हजार २ सय ७० मत ल्याई राष्ट्रिय पञ्चायतमा पुगेका थिए ।
जबकी लोकतन्त्र स्थापनापछिका चुनावहरुमा पनि मल्लले ल्याएको ९३ हजार मतको त्यो रेकर्ड कसैले तोड्न सकेको छैन । पछिल्ला निर्वाचनहरुमा सबैभन्दा बढी २०७४ को चुनावमा झापा–५ बाट एमाले अध्यक्ष केपी ओलीले ५७ हजार १ सय ३९ मत ल्याएर विजयी भएका थिए ।
यस पटक पनि सबैभन्दा बढी मत ल्याएका उनको जम्मा ५२ हजार ३१९ मत छ ।
पहिलो संविधान सभामा भने ४६ हजार २ सय ७२ मतसहित माओवादी नेता डा. बाबुराम भट्टराई गोर्खाबाट चुनिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया