काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाका ३२ मध्ये ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको चुनावी नतिजा सार्वजनिक भएको छ । मंसिर ४ मा सम्पन्न निर्वाचनको मतपरिणाम आउनेक्रम जारी रहँदा प्रदेशसभा सदस्यमा ४ जना मात्रै पुराना अनुहार दोहोरिएका छन् ।
प्रदेशमा स्वतन्त्रको लहर नदेखिए पनि नयाँ अनुहारलाई निर्वाचित गरेर नयाँ सन्देश दिइएको छ । डडेलधुराको प्रदेशसभा (ख) मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी निर्वाचित भएका छन् । उनी पहिलो पटक निर्वाचित भएका हुन् । गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्दराज बोहरालाई ४ सय २५ मतान्तरले पराजित गरेका जोशीले ११ हजार १६२ मत ल्याए भने बोहराले १० हजार ७३७ मत प्राप्त गरे ।
प्रदेशसभामा दोहोरिनेमा बहालवाला केही मन्त्री र प्रदेश सदस्य मात्रै छन् । प्रदेश सरकारका बहालवाला दुई मन्त्री पराजित हुँदा दुई मन्त्री भने विजयी भए । प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकासमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता दीर्घबहादुर सोडारी कैलाली ४ (क) बाट प्रदेशसभा सदस्यमा पुनः निर्वाचित भए । उनले नेकपा (एमाले) का भीमबहादुर देउवालाई पराजित गरेका हुन् । सोडारीले १३ हजार ४६ मत ल्याएर निर्वाचित हुँदा देउवाले ९ हजार २६४ मतमै सीमित भए ।
नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम संसदीय दलका नेतासमेत रहेका सोडारी र देउवाबीच प्रतिस्पर्धा भएको थियो । एमाले विभाजनपछि पार्टी छोडेका सोडारी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए । उनीसँग पराजित भएका देउवा भने निवर्तमान गौरीगंगा नगरपालिका प्रमुख हुन् । यसपटक उनी प्रदेशसभामा नेकपा (एमाले) बाट उम्मेदवार थिए ।
त्यस्तै, अछाम २ (क) बाट नेकपा (माओवादी केन्द्र) का अक्कलबहादुर रावल पनि प्रदेशसभामा दोहोरिएका छन् । माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष रावलले नेकपा (एमाले) का उम्मेदवार भिमबहादुर विष्टलाई हराए । ११ हजार २२० मतसहित रावल निर्वाचित हुँदा उनका प्रतिस्पर्धी विष्ट ८ हजार ४२३ मतमा सीमित भए । प्रदेशसभा (क) मा २० हजार ६६३ मत खसेको थियो भने १ हजार २० मत बदर भएको थियो । उनी ०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
त्यस्तै, प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता मानबहादुर धामी दार्चुला (ख) बाट दोस्रो पटक निर्वाचित भए । दार्चुलाको प्रदेशसभा सदस्यमा उनले आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका रामदत्त जोशीलाई पराजित गरे । धामीले १३ हजार १७१ मत ल्याएर निर्वाचित भए भने, जोशीले ११ हजार ८५६ मत ल्याए ।
यस्तै, कञ्चनपुर ३ (क) बाट नेकपा (एकीकृत समाजवादी) का प्रकाश रावल ८ हजार ७१८ मत ल्याएर पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज जोशीलाई १ हजार ८६० मतान्तरले पराजित गरे । जोशीले ६ हजार ८५८ मत ल्याएका हुन् ।
प्रदेशसभाका निवर्तमान सदस्य, नेकपा (एकीकृत समाजवादी) का नेता अमरबहादुर साउँद कैलाली ३ (ख) बाट र लालबहादुर खड्का कञ्चनपुर २ (ख) बाट प्रदेशसभा सदस्यमा पराजित भए । कैलाली २ (ख) बाट नेकपा (माओवादी केन्द्र) का सुदूपश्चिम प्रदेश सदस्य एवं निवर्तमान प्रदेशसभा सदस्य नन्दबहादुर साउँद पराजित भए भने एमालेका नेताद्वय पठानसिंह बोहरा डडेलधुरा र लीलाधर भट्ट बैतडीको प्रदेशसभा सदस्यबाट पराजित भए ।
निर्वाचनअघि एमालेबाट नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेर प्रदेशसभा सदस्यको टिकट पाएका प्रदेशसभाका निवर्तमान सदस्य रतनबहादुर थापा कैलालीबाट पराजित भए । यस्तै प्रदेशसभाका निवर्तमान सदस्य तराई–मधेश लोकतान्त्रिक पार्टीका कृष्णबहादुर चौधरी कैलाली १ को प्रदेशसभा सदस्यमा पराजित भए ।
गठबन्धन बलियो एमाले कमजोर
सुदूरपश्चिम प्रदेशसभामा गठबन्धनको बहुमत पुग्ने भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ले २१ स्थानमा जित हासिल गरेको छ भने नागरिक उन्मुक्ति पार्टीले ५ स्थानमा जित हात पारेको छ । प्रदेशसभामा नेकपा (एमाले) को भने उपस्थिति कमजोर हुने देखिन्छ । प्रदेशसभामा २६ जना नयाँ अनुहार निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसबाट अछाम १ प्रदेशसभा (ख) मा मेघराज खड्का, २ (ख) मा मानबहादुर रावल, बझाङ (क) बाट पृथ्वीबहादुर सिंह, कैलाली २ (क) बाट कमलबहादुर शाह, ४ (ख) बाट प्रकाशबहादुर बम र ५ (ख) बाट प्रकाशबहादुर देउवा निर्वाचित भएका छन् ।
त्यस्तै, दार्चुला प्रदेशसभा (क) बाट विक्रमसिंह धामी, बैतडी (क) बाट शिवराज भट्ट, कञ्चनपुर १ (ख) बाट दिवानसिंह विष्ट, २ (ख) बहादुरसिंह थापा र ३ (ख) बाट बेलबहादुर रानामगरसहित ११ जना निर्वाचित भएका छन् ।
प्रदेशसभा सदस्यमा निर्वाचित हुनेमा नेकपा (माओवादी केन्द्र) अछाम १ (ख) मा झपटबहादुर साउँद, २ (क) मा अक्कलबहादुर रावल, बझाङ (ख) बाट भीमबहादुर भण्डारी, डोटी (ख) बाट शिवसिंह ओली, कैलाली ५ (ख) मा रमेशसिंह धामी, दार्चुला (ख) बाट मानबहादुर धामी, डडेलधुरा (क) मा खगराज भट्ट र कञ्चनपुर २ (क) ओमविक्रम भाटसहित ८ जना रहेका छन् ।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा कैलाली १ (क) बाट कैलाश चौधरी, १ (ख) बाट लक्ष्मणकिशोर चौधरी, २ (ख) बाट रामेश्वर चौधरी, ३ (क) बाट घनश्याम चौधरी र ३ (ख) बाट खुशीराम चौधरीसहित ५ जना निर्वाचित भएका छन् ।
नेकपा (एमाले) बाट प्रदेशसभामा निर्वाचित हुनेमा डोटी (क) मा चक्रबहादुर मल्ल, बैतडी (क) मा सुरेन्द्रबहादुर पाल र कञ्चनपुर १ (क) मा वीरबहादुर थापासहित ३ जना रहेका छन् ।
नेकपा (एकीकृत समाजवादी) का कैलाली ४ (क) बाट दीर्घबहादुर सोडारी र कञ्चनपुर ३ (क) बाट प्रकाश रावलसहित २ जना निर्वाचित भएका छन् ।
डडेलधुरा १ (२) बाट स्वतन्त्र उम्मेदवार डा.ताराप्रसाद जोशी प्रदेश सभामा विजयी भएका छन् । प्रदेशसभामा ५३ सदस्य रहेका छन् । प्रत्यक्षतर्फको बाजुराको दुई स्थान र समानुपातिकको २१ सदस्यको नतिजा आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया