संसदमा नयाँ अनुहारको प्रवेशले अस्थिरता निम्तिदैन : सुवास नेम्वाङ

लोकपथ
147
Shares

काठमाडौं । पूर्व सभामुख एवं नेकपा एमाले नेता सुवासचन्द्र नेम्वाङले निर्वाचनको परिणामले नयाँ अनुहार ल्याए पनि त्यसले अस्थिरता ननिम्त्याउने विश्वास व्यक्त गरेका छन् ।

ईलाम–२ बाट नवनिर्वाचित नेम्वाङले सञ्चारकर्मीहरुसँग कुरा गर्दैै सो कुरा बताएका हुन् ।

नयाँ पार्टीको संसदमा प्रवेशले कतै अस्थिरता त निम्तिने होइन ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले संविधानले नै मिश्रित निर्वाचन प्रणाली अबलम्बन गरेको बताउँदै आएको परिणामबाट आत्तिनु नपर्ने बताए ।

‘संविधानले एकदमै प्रष्ट भनेको छ । संविधानले मिश्रित निर्वाचन पद्धतीको व्यवस्था अवलम्बन गरेको छ, त्यो सबै दलहरुले जानी बुझिकनै गरेको हो ।’ उनले भने, ‘मिश्रित निर्वाचन प्रणालीको परिणाम यस्तै हुनसक्छ भन्ने हामीलाई थाहा थियो । त्यसैले यसको लागि हामी तयार रहनुपर्छ । यसले कुनै अस्थिरता ल्याउँदैन ।’

त्यसैगरी आफ्नो दल नेकपा एमालेले पाएको मतका आधारमा आफूहरु जस्तो भूमिकामा रहने तयार रहेको बताए ।

‘संविधान बमोजिम हामी अघि बढ्छौ । जनताले सबै छलफल गर, सबै मिलेर अगाडि बढ भनेको छ । हामी त्यहि अनुसार अगाडी बढ्छाैँ । जनताको जनादेश बमोजिम जुनसुकै भूमिका निर्वाह गर्न हामी तयार छौँ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?