मन्त्रिपरिषद् बैठकको निर्णय : इजरायल, दक्षिण अफ्रिकाका राजदूत फिर्ता बोलाइयो

काठमाडौं । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ । 

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई फिर्ता बोलाउने निर्णय गरेको हो । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासमेत रहेको थापालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा  राजदूत बनाएका थिए । 

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाका अनुसार थापालाई तीन साताको समय दिइएको छ । 

थापाको ठाउँमा अञ्जान शाक्यलाई सिफारिस गरिएको प्रवक्ता बास्कोटाले जानकारी दिए । 

साथै उक्त बैठकले भारतका लागि नेपाली राजदूतमा निलाम्बर अचार्य, मलेसियाका लागि राजदूतमा उदयराज पाण्डे र यूएईका लागि नेपाली राजदूतमा परराष्ट्रका सहसचिव कृष्णप्रसाद ढकाललाई सिफारिस गरेको थियो । 

यसैगरी दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई पनि फिर्ता बोलाउने निर्णय बैठकले गरेको छ । 

मन्त्रिपरिषद् बैठकले तत्कालीन राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको करिब ७१ रोपनी जग्गा नेपाल ट्रष्ट मातहतमा ल्याइएको छ भने सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा मृत्यु भएका रामविलास महतोको परिवालाई १० लाख राहत दिने निर्णय समेत गरेको छ । 

उक्त झडपमा घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले आइतबार गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?