रिक्त रहेको तीन कूटनीतिक नियोगमा राजदूत सिफारिस

काठमाडौं । सरकारले लामो समयदेखि रिक्त रहेको तीन कूटनीतिक नियोगमा राजदूत सिफारिस गरेको छ । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि निलम्बर आचार्य, यूएईका लागि कृष्णप्रसाद ढकाल र मलेसियाका लागि उदयराज पाण्डेलाई सिफारिस गर्ने निर्णय गरेको हो । 

भारतका तत्कालीन राजदूत दीपकुमार उपाध्यायले चुनाव लड्न पदबाट राजीनामा दिएपछि दिल्लीमा राजदूत खाली थियो । 

संविधानको मस्यौदाकारसमेत रहेका पूर्वकानूनमन्त्री आचार्य अढाई दशकअघि श्रीलंकाको राजदूत थिए भने पछिल्लो समय उनी नेपाल–भारत प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) का सदस्य थिए । 
त्यसैगरी यूएईका लागि सिफारिस ढकाल परराष्ट्रका सहसचिव हुन् । उनी भारतमा डेढ वर्ष कार्यवाहक थिए । 

सरकारले ६ महिनाअघि नै उदयराज पाण्डेलाई मलेसियाका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । 

मलेसियाका लागि ६ महिना अघिनै सिफारिस गरिएको पाण्डेकै नाम आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको हो ।

पाण्डे यसअघि साउदी अरबका राजदूत थिए ।

उनीहरू तीनै जनामाथि संसदीय सुनुवाइ हुनेछ । 

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्र राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

साथै मन्त्रिपरिषद् बैठकले जेनेभास्थित राष्ट्रसंघीय नियोगमा दीपक धितालको पदावधि थप्ने निर्णय पनि गरेको छ । उक्त निर्णयबारे सरकारले औपचारिक जानकारी भने दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?