काठमाडौं । सूर्य उपासनाको महापर्व छठको आज दोस्रो दिन खरना मनाइँदैछ । दोस्रो दिन (पञ्चमी) खरना गरिन्छ, जसलाई पापको क्षय पनि भनिन्छ ।
मुख्य विधि अन्तर्गत पहिलो दिन हिजो (आइतबार) चतुर्थीको विधिमा अरबा–अरबाइन (नहाय–आय) मनाइँयो भने आज दोस्रो दिन खरना मनाइँदैछ ।
खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी दिनभर उपवास बस्ने गरिन्छ । बेलुकी चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलोमा र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र गम्हरीको चामलको खीर पकाइन्छ । गम्हरी चामल नभएमा धानको चामलको प्रयोग गरिन्छ ।
यस दिनको नैवेद्य चढाउने बेलामा जतिवटा अर्घदान गरिने हो, त्यतिवटा स्थानमा केराको पातमाथि नैवेद्य चढाउने गरिन्छ । यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा मूला, पान र सुपारी आदि राखिन्छन् ।
नैवेद्यलाई केराको पातमा राखेर छठीमातालाई चढाइन्छ नैवेद्यलाई उत्सर्ग गरिसकेपछि व्रती र परिवारजनले प्रसाद ग्रहण गर्छन् ।
तेस्रो दिन (षष्ठी), गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटी सोबाट विभिन्न गुलियो खाद्य सामग्री तयार गरिन्छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला गाजर ,बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं छठको लोकगीत गाउँदै निर्धाति जलाशयसम्म पुग्ने गर्छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया