भारतबाट अवैधरूपमा भित्र्याइएको ठूलो परिमाणमा नमूना मतपत्र बरामद

लोकपथ
133
Shares

पर्सा । भारतबाट अवैधरूपमा भित्र्याइएको ठूलो परिमाणमा नमूना मतपत्र बरामद गरिएको छ । भारतसँग सीमा जोडिएको पर्साको जानकीटोला नाकाबाट भित्र्याउँदै गरेको १५ हजार थान नमूना मतपत्रसहित भारत विहारको नरकटिया ग्राम पञ्चायत वडा नम्बर १४ घर भएका ४० वर्षीय इजाजत अहमदलाई प्रहरीले पक्राउ गरेको थियो ।

तर, सोधपुछ तथा अनुसन्धान जारी रहने गरी अभिभावकको जिम्मा लगाई उनलाई छोडिएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

भारत विहारबाट बीआर २२ डब्लु ८००२ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नमूना मतपत्र बोकेर जानकीटोला नाका हुँदै मङ्गलबार साँझ छिरेका अहमदलाई जानकीटोला नाकामा खटिएको प्रहरीले पक्राउ गरेको तर, अनुसन्धान जारी राख्ने शर्तमा छोड्ने आदेश आएकोले छोडिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

मंसिर ४ मा हुन गइरहेको निर्वाचनका लागि भारतमा छापिएको नमूना मतपत्र गैरकानूनी रूपमा नेपालमा भित्र्याउँदै गरेको अवस्थामा पक्राउ परेकाले नमूना मतपत्रको गलत प्रयोग हुन नदिने उद्देश्यले प्रहरीकै संरक्षणमा राखिएको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए ।

उनले भने, ‘कुन दल वा कुन उम्मेदवारको लागि अहमदले त्यति धेरै मतपत्र भारतबाट ल्याएका हुन् ? यसबारे केही खुल्न सकेको छैन, अनुसन्धान जारी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?