कपिल अधिकारी / काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुषालले एमाले माओवादीबीच भएको पार्टी एकीकरणको काम लम्बिदा सरकारको काम प्रभावित भएको तर्क गरेका छन् ।
रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यसमेत रहेका भुषालले पार्टी एकीकरणमा नेताहरूको स्वार्थ जोडिदा ढिलाइ भएको बताए ।
उनले भने ‘मैले स्थायी कमिटीको बैठकमा लिखित रूपमै दिएको छु की माओवादीको अध्यक्ष भइरहेको ठाउँमा एमालेको सचिव र एमालेको अध्यक्ष भइरहेको ठाउँमा माओवादीको सचिव बनाउने ।
अध्यक्ष वा सचिव जनप्रतिनिधि भएको अवस्थामा क्रमशः पदीय जिम्मेवारी अनुसार अर्को व्यक्तिलाई नेतृत्व दिने । सोही अनुसार गरेको भए साउन भित्रै एकीकरण टुंगिन्थ्यो । तर, यताबाट उताबाट, कमिटीमा हुँदै नभएको व्यक्तिलाई नेतृत्वमा ल्याउन थालेपछि ढिलाइ भएको हो ।’
पार्टी एकता प्रकृयालाई छिटो टुङग्याउनु पर्ने उनको जोड छ । पार्टी एकता प्रकृया लम्बिदा सरकारको काम कारबाहीनै प्रभावित बन्न पुगेको उनको तर्क थियो । संसदीय सम्र्पक कार्यालय रुपन्देही क्षेत्र नम्बर ३ ले भैरहवामा शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता भुसालले जनताको चाहाना र पार्टीको प्रतिबद्धता बमोजिम सरकारले काम गर्न नसकेको स्वीकार गरे ।
जनताको चाहाना र हाम्रो कबुल अनुसार काम हुन सकेको छैन, उनले भने— एकता प्रकृया अल्मलिएको छ, यसले पार्टी र सरकारको काममा अन्यौलता देखिएको छ ।’ पूर्वमन्त्री समेत रहेका भुषालले तल्लो तहसम्मको पार्टी एकतामा साबिकका कमिटिहरुलाई आधार बनाइनुपर्नेमा जोड दिए ।
नेता भुषालले आफू सानैदेखि मार्क्सवादी अध्ययन र प्रशिक्षणमा रुचि राख्ने हुनाले सो कार्यलाई गुटको संज्ञा दिन नहुने पनि तर्क गरे ।
फरक प्रसंगमा नेता भुषालले पर्यटन र कृषिमार्फत रुपन्देहीको विकास गर्न सकिने पनि बताएका छन् । बुद्ध जन्मस्थल लुम्बिनी र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललाई मात्रै व्यवस्थित गरेमा रुपन्देहीका जनता समृद्ध हुने बताए । उनले भने ‘ लुम्बिनी र विमानस्थललाई सही ढंगले सन्चालन र प्रबर्द्धन गरेमा मात्रै त्यसले आर्थिक विकास ठूलो योगदान पुर्याउँछ । ’
रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य भुषालले कृषि र पर्यटननै यस क्षेत्रको आर्थिक विकासको आधार भएको समेत तर्क गरे ।
नेता भुसालले भैरहवाको सेज सञ्चालनमा ढिलाई हुनुका पछाडि थुप्रै कारण रहेपनि अब ढिलाइ नहुने दाबी गरे । उनले भने ‘मैले सरकारी अधिकारीलाई सेजको काम सरकारका तर्फबाट कहाँ रोकिन्छ मलाई भन्नुस् भनेको छु, काम अघि बढिरहेको छ , अब बिलम्ब हुँदैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया