काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत्लगात छठ पर्वका अवसरमा आज पार्टी कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्दैछ ।
हरेक वर्षमा केन्द्रीय कार्यालयमा मात्र चियापानको आयोजना गर्दै आएको कांग्रेसले यो वर्ष भने एकै दिन देशभर यो कार्यक्रम गर्न लागेको हो ।
देश भर शुक्रबार दिउँसो १ बजेबाट शुरु हुने चियापान कार्यक्रम भने सर्लाही जिल्लामा नहुने कांग्रेसले जनाएको छ ।
पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार सर्लाहीमा आफ्नो कार्यकर्ता मारिएका कारण उक्त ठाउँमा चियापान कार्यक्रम नहुने बताए ।
विगतका वर्षहरुमा विजयादशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन भएका कारण स्थगित भएको थियो ।
उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका तीन जिल्लाका लागि सानेपास्थित केन्द्रीय कार्यालयमा हुने कार्याक्रममा पार्टीका नेता, राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारगृहका प्रतिनिधि, पत्रकार, गैरआवासीय नेपालीका सङ्घ–संस्थाका पदाधिकारीलगायत विशिष्ट महानुभाव, कांग्रेसका सदस्य एवं शुभेच्छुकको सहभागिता रहने पार्टी प्रवक्ता शर्माले बताए । कार्यक्रममा करिब १५ हजार कार्ड वितरण गरेको छ भने एक लाख व्यक्तिलाई निमन्त्रण कांग्रेस प्रवक्ता शर्माले जानकारी दिए ।
आजै केन्द्रीय कार्यालयसहित ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरिने पनि जनाएको छ ।
चियापान आज दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म आयोजना हुने ।
विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ भारतबाट स्वदेश फर्केपछि विसं २०३५ देखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले उक्त कार्यक्रम गर्दै आइरहेको छ ।
कांग्रेसले विसं २०७३ मा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनको वार्षिकी भएकाले र विसं २०७४ मा निर्वाचनका कारण चियापान कार्यक्रम आयोजना गरेको थिएन ।
उनका अनुसार वितरण भएका कार्डमध्ये १० हजार चियापनमा सहभागी हुने कांग्रेसको अपेक्षा छ ।
चियापानमा कांग्रेसले आगन्तुकहरुलाई चिया, कफी, समोसा, निम्की र जेरी खुवाउने छ । ती खाद्य सामाग्री कांग्रेसले पार्टी कार्यालयस्थित क्यान्टिनमा तयार गरेको प्रवक्ता शर्माले बताए ।
कांग्रेसले आज आयोजना गरेको चियापनमा नोपल कम्युनिष्ट पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत निमन्त्रणा गरिएको छ । तर, प्रधानमन्त्री ओली अस्वस्थताका कारण चियापानमा सहभागी हुने छैनन् भने अध्यक्ष प्रचण्ड भने सहभागी हुने छ । अध्यक्ष प्रचण्ड दिउँसो २ बजेपछि उक्त कार्यक्रममा सहभागी हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया