गह्रौँसुर मन्दिरमा आठ लाख भेटी सङ्कलन

RSS
77
Shares

स्याङ्जा । स्याङ्जा जिल्लाको प्रसिद्ध धार्मिकस्थलका रूपमा परिचित गह्रौंसुर कालिका मन्दिरमा बडादसैँको अवधिभरमा ८ लाख बढी रुपैयाँ भेटी सङ्कलन भएको छ । स्याङ्जाको वालिङ–८ र गल्याङ नगरपालिका–१० को सङ्गमस्थलमा अवस्थित गह्रौंसुर मन्दिरमा बडादसैँको घटस्थापनादेखि कोजाग्रात पूर्णिमाको दिनसम्ममा ८ लाख १६ हजार ४६० रुपैयाँ सङ्कलन भएको गह्रौंसुर धार्मिक एवं पयर्टकीय केन्द्रका कोषाध्यक्ष केशभक्त गुरुङले जानकारी दिए ।

कोषाध्यक्ष गुरुङका अनुसार मन्दिरमा चढाइएको भेटी, पाठाको टाउको बिक्री, परेवा बिक्री, टीका थाली, दान पेटिका, होटल, पसल, सहयोग रसिद शीर्षकमा उक्त भेटी सङ्कलन भएको हो । बडादसैँको अवधिभर पूजा व्यवस्थापनका लागि २ लाख ७० हजार ८५ रुपैयाँ खर्च भएको उनले बताए ।

खर्च कटाएर बचत भएको ५ लाख ४६ हजार ३७५ रकमले मन्दिरमा पुजारीको पारिश्रमिक, लिफ्टिङ खानेपानी मर्मत, रङ्गरोगनका लागि खर्च गरिने छ । तत्कालीन बाइसे/चौबीसे राज्यअन्तर्गतको गह्रौंकोट राज्यका प्रथम राजा दशरथ खाणको समयमा स्थापित ऐतिहासिक एवं पुरातात्विक महत्वको यस मन्दिर पाँच सय ५० वर्ष पुरानो मानिन्छ ।

विशेषगरी बडादसैँ र चैतेदसैँमा यहाँ हजारौँको सङ्ख्यामा पाठा, पाडा, भेडा, हाँस, परेवाको बलि दिने गरिन्छ । एकादशी, औँसीबाहेक यहाँ हरेक दिन बलि दिने गरिएको छ । स्याङ्जासहित पाल्पा, गुल्मी, पर्वत, बागलुङ, तनहुँ, बुटवल, पोखरालगायतका स्थानबाट यहाँ बर्सेनि हजारौँ भक्तजन पूजाआजाका लागि आउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?