शिक्षण पेसा छाडेर फूल खेती, मनग्य आम्दानी

RSS
56
Shares

चितवन । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ । व्यवसायिक रुपमा सयपत्री फूल खेती गरेका उनलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो । गतवर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उनले अहिले चार बिघामा फूल रोपे ।

सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उनको भनाइ छ । पाख्रिनले भने, ‘गतवर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पुर्याउन सकिएन भनेर अहिले चार बिघामा लगाएको झनै अपुग भयो ।’ कृतिम फूल प्रयोगकर्ता घटेपछि प्राकृतिक फूलमा आकर्षण बढ्दा जिल्लामा सयपत्री फूलको माग बढी भएको उनले बताए ।

तिहारको अवधिभर १२ हजार फूलको माला बिक्री हुने पाख्रिनको विश्वास छ । जसबाट ६ लाख रुपैयाँ भन्दा माथि आम्दानी हुने उनले बताए । पाख्रिनले १८ वर्षदेखि व्यवसायीक रुपमा सयपत्री फूलको उत्पादन गर्दै आएका छन् । चितवनमा यो पेसा गरेको पाख्रिनले पाँच वर्ष भयो । धादिङ फूलखर्क–४ का उनले नौबिसेबाट पुष्प खेतीको सुरुआत गरेका थिए ।

यसका लागि उनले शिक्षण पेसासमेत छोडे । बीस वर्ष अगाडि उनले काठमाडौँको लगनखेल स्थित बालविद्या गृहमा इतिहास र भूगोल विषय पढाउथे । मानविकी सङ्कायमा स्नातक गरेका पाख्रिनले कक्षा १० सम्मका विद्यार्थीलाई अध्यापन गराउथे तर, उनलाई शिक्षण पेसाले आत्मसन्तुष्टि भने दिन सकेन ।

उनी भन्छन्, ‘फूलसँग रमाउने मेरो रुची हो । सानैदेखि फूल प्रति मेरो मोह नै छ । मेरो घर वरपर बिरुवाले भरिभराउ हुन्थ्यो तर, यो नै मेरो पेसा बन्ने छ भन्ने सोचेको थिइनँ । जब मैले शिक्षण पेसा गरे यसले पनि मलाई खुसी, उत्साह र शान्ति दिन सकेन र छोडेँ ।’ यसपछि पनि पाख्रिनले फूल खेतीमा व्यावसायिक रुपमा लाग्ने सोचेका थिएनन् ।

उनले छ वर्ष क्रिष्टल इन्स्टिच्युट कमलपोखरी काठमाडौंमा फोटो सम्बन्धि पढाए । यसले पनि उनको तिर्खा मेट्न सकेन । अन्ततः दुईवटा काम छोडेपछि पाख्रिनले आफूलाई चाहेको गन्तव्य पहिल्याए । पुष्प किसान बन्ने निधो गरे । त्यसयता उनी फूलसँग नाता गासेर रमाउँदै छन् । यो व्यवसाय गर्नका लागि उनलाई श्रीमती सरस्वती खत्री पाख्रिनको उत्तिकै साथ छ । उनीहरुका दुई छोरी र दुई छोरा छन् । बढी रहेको श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?