काठमाडौं । आज कात्तिक शुक्ल औँशीको दिन हिन्दूहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत पर्ने गाई पूजाकै दिन सूर्य ग्रहण परेको छ । यो सूर्य ग्रहणले तिहारका कुनैपनि चाडमा असर नपुर्याएको ज्योतिष गुरु प्रसाद सुवेदीले बताएका छन् । आज (मंगलवार) साँझ लाग्ने खग्रास सूर्य ग्रहणका धार्मिक, ज्योतिषिय र बैज्ञानिक प्रभाव के कस्तो हुन्छ भन्ने बिषयमा लोकपथले सुवेदीसँग सम्वाद गरेको छ । सोही सम्वादको सम्पादित अंश ।
सूर्य ग्रहण भन्नाले के बुझ्ने ?
सूर्य ग्रहण भन्नाले ग्रह नक्षत्रको गतिको आधारमा चन्द्रमा र सूर्यको बीचको एउटा सम्बन्ध हो । एक किसिमले भन्ने हो भने पृथ्वीको छायाँका कारणले गर्दा सूर्यमा ग्रहण लागेको भनिन्छ । जसलाई पुराणको भाषामा यसलाई राहुले ग्रस्त गरेको भनिन्छ । राहु भनेको एक किसिमको छाँया हो । छाँयालाई नै हामी राहु अर्थात त्यसको अर्को विपरित भावलाई केतु भनेर पुराणमा नाम दिएको पाउँछौ । त्यसरी ग्रह गणितको आधारमा जुनसमयमा, जतिखेर, जतातिरबाट पूर्व, पश्चिम, उत्तर, दक्षिण कताबाट लाग्ने हो भन्ने प्रकृया हुन्छ त्यस्तो खालको समय विशेषलाई ग्रहण भनिन्छ ।
सूर्य ग्रहण जहिले पनि औंशीको दिनमा ग्रहण लाग्दा हुन्छ । त्यस्तै, पूर्णिमाको दिनमा ग्रहण लाग्दा चन्द्र ग्रहण हुन्छ । चन्द्र र सूर्य ग्रहणको अलग अलग प्रकृया हुन्छ । अहिले कात्तिक महिनाको ८ गतेको दिन सूर्य ग्रहणको अवस्था छ । जुन कात्तिक शुक्ल औँशीको दिन लाग्छ । अर्कोतिर कात्तिक शुक्ल पूर्णिमामा पनि ग्रहण लाग्छ त्यतिबेला चन्द्र ग्रहण लाग्छ । ग्रहण लाग्दा पुरा ढाकियो भने त्यसलाई खग्रास भन्ने चलन छ । अलिकति थोरै ग्राफ गर्यो अथवा छोयो भने त्यसलाई खण्डग्रास भनिन्छ । खग्रास सूर्य ग्रहण भएको खण्डमा दिउँसै अध्यारो भएको जस्तो हुन्छ, सूर्यका कुनैपनि किरणहरु पृथ्वीमा आइपुग्नवाट रोकिने अवस्था हुन्छ ।
आज मंगलवार लाग्ने सूर्य ग्रहणको समयावधि कति छ ?
आज मंगलवार लाग्न लागेको सूर्य ग्रहण खण्डग्रास हो । खण्डग्रास चाहिँ दिउँसोको ४ बजेर ५२ मिनेटमा शुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले पात्रोमा निर्धारण गरेको समय अनुसार नै छ । यद्यपी नेपालको पूर्व र पश्चिमको देशान्तरको आधारमा करिब १० मिनेट जति फरक पर्न पनि सक्छ । तर, सामान्यतया नेपालको एउटा आधिकारीक समयअनुसार अपराहन्न ४ बजेर ५२ मिनेटमा ग्रहण स्पर्श हुन्छ । त्यसपछि करिब ५ बजेर २४ मिनेटमा सूर्य अस्त हुने हुन्छ । सबै समयलाई हेर्दा आज करिब ३२ मिनेट सूर्य ग्रहण लाग्ने छ ।
सूर्यअस्त हुने बेलामा लाग्ने ग्रहणको प्रभाव कत्तिको रहन्छ ?
अहिले यो खग्रास नभएकाले यसको प्रभाव आशिंक रुपमा कम हुन्छ । सूर्य ग्रहणको प्रभाव चाहिँ केहि न केहि रहन्छ । त्यो प्रभाव हामिले स्पष्टरुपमा अनुभव नगरेपनि ग्रहण लाग्दा विकिरण फैलिएको हुन्छ । ग्रहण लाग्दा खोला छेउमा बस्नुपर्ने ग्रहणको स्पर्श हुनुभन्दा अगाडि नुहाउने, स्पर्श भइसकेपछि र त्यो छोडिसकेपछि पनि नुहाउनु पर्ने यो हाम्रो धार्मिक मान्यता पनि छ । त्यो सुरुको र समापनको अवधिभरमा अरु कुनै पुजापाठ, अरु बाहिरी कर्महरु, खानपिन, भोग विलासका कुराहरु नगरेर आफ्नो इष्ट देवताको मन्त्र जप गर्ने अनि, पाठ गर्ने अथवा ध्यान पुजन गर्ने, मन्त्र शिद्धि गर्न चाहनेले ग्रहणकै अवधिमा मन्त्र जपेर मन्त्रलाई शिद्ध गर्न सक्ने शास्त्रीय विधिहरु पनि छन् ।
ग्रहणले तिहारका पर्वहरुमा प्रभाव पारेको छ कि छैन ?
ग्रहण अवधि भरमा गाईको पूजा गर्न मिल्दैन । यद्यपी बिहानै ग्रहणको स्पर्श नहुँदै गाईको पूजा गर्न पाइन्छ र मिल्छ पनि । लक्ष्मी पूजा ग्रहण लाग्नुको अघिल्लो दिन नै परेका कारणले गर्दा पनि हाम्रा तिहारका पर्वहरुमा प्रभाव परेका छैनन् ।
तर, सूर्य ग्रहण लागेपछि लगभग १२ घण्टा (दिनमान र रात्रीमान)को आधारमा थोरै तलमाथि हुनसक्छ । उक्त अवधिमा भोजन गर्नु हुँदैन् । सूर्य ग्रहणको अवधिमा टन्न खाइएको अन्नहरु पेटमा हुनुहुँदैन भन्ने मान्यता अनुसार १२ घण्टा अगाडी खानु हुँदैन र चन्द्र ग्रहण लाग्नुको ९ घण्टा अगाडि खाना खानु हुँदै भन्ने शास्त्रीय नियम छ । त्यसकारणले आज बिहान ४ बजेर ५२ मिनेट अगाडि नै खानुपर्ने ले खान सकिन्छ । सूर्य अस्त पछि ग्रहणले छोडेको हामीले नदेख्ने हुनाले अर्को दिन सूर्योदय भएपछि आफ्नो नित्य कर्म सकेपछि मात्र खान पाइन्छ भन्ने पनि व्यवस्था छ । यसलाई पनि सहजिकरण रुपमा वृद्धबृद्धाहरुलाई, बच्चहरुलाई र बिरामीहरुका लागि छुट छ । उनिहरुले मुख्य ग्रहण काल बाहेक अन्य समयमा आफ्नो इच्छा, क्षमताका आधारमा भोजन गर्न सक्छन् ।
को कस्ले सूर्य ग्रहणलाई हेर्न हुन्छ ?
सामान्यतया सूर्य ग्रहण त कसैले पनि नहेरेकै राम्रो हो । प्रत्यक्ष रुपमा त झन हेर्नु नै हुँदैन् । हेरे पनि अन्य उपकरण प्रयोग गरेर अथवा पानीमा पारेर आँखामा विकिरण नपर्ने गरी हेर्नु भन्ने छ । कसैलेपनि ग्रहण लाग्दै गरेको सूर्यलाई हेर्नु आवश्यक पनि छैन । अस्ताउँदै गरेको तथा उदाउँदै गरेको सूर्यलाई नर्हेनु भन्ने धर्मशास्त्रको नियम छ । हेरेपनि नहेरे पनि राशि अनुसार ग्रहणको फल प्राप्त हुन्छ ।
लोक व्यवहारमा भने कस्ले हेर्न मिल्ने कस्ले हेर्न नमिल्ने भनेर छुट्याउँछन् । पात्रो लेख्नेहरुले लेखिदिए अनुसार मेष, मिथुन, कर्कट, कन्या, तुला, वृश्चिक, कुम्भ र मिन राशिले ग्रहण हेर्नु हुँदैन भन्ने छ । त्यसबाहेक बृष, सिंह, धनु र मकर राशिले सूर्य ग्रहणबाट राम्रो फल प्राप्त गर्छन् ।
सूर्य ग्रहणले कस्लाई कस्तो फल प्रदान गर्छ ?
यो सूर्य ग्रहण कुन राशिमा परेको छ भन्नेमा भर पर्छ । आफ्नै राशिमा प¥यो भने घात हुन्छ भन्ने छ । त्यसपछिका क्रमशः राशिहरुको गणना हुन्छ । ती गणनाको आधारमा चाहिँ कस्लाई कस्तो फल प्राप्त हुन्छ भन्ने हुन्छ । तर, त्यो हेरेर वा नहेरेरसँग सम्बन्ध हुँदैन । आफ्नो राशि र त्यो राशिको दुरिको आधारमा फल प्राप्त हुने हो । यसपटकको सूर्य ग्रहणले मेष राशिकालागि पिडा, बृषका लागि सुख, मिथुनका लागि चिन्ता, कर्कटका लागि व्यथा, सिंहका लागि श्री प्राप्ती, कन्याका लागि क्षति, तुला राशिमै ग्रहण भएका कारणले घात, वृश्चिकका लागि व्यय अर्थात घाटा, धनुका लागि लाभ, मकरका लागि सुख, कुम्भका लागि मान नाश र मिन राशिका लागि कष्ट भनेर उल्लेख गरिएको छ ।
सूर्य ग्रहणबाट प्राप्त दोषबाट कसरी बच्ने ?
सूर्य ग्रहणले पिडा, घात, चिन्ता, क्षती, घात, घाटा, मान नाश लगायतका दोषबाट बच्न शुभकर्म गर्नुपर्छ । ग्रहण अवधीभर आफ्ना इष्ट देवताको नाम जप्ने, सेवा, दान, धर्मलगायतका कार्य गर्नुपर्छ ।
आज लाग्ने ग्रहणको प्रभाव कुन क्षेत्रमा छ ?
भौगोलिक दृष्टिले भन्ने हो भने आज मंगलवारको सूर्य ग्रहणको स्पर्श नेपालको पूर्वदेखि पश्चिमसम्म सबै स्थानमा गर्न सकिन्छ । अन्तराष्ट्रिय रुपमा विश्वभरमा कहाँ कहाँ कति कति पर्छ भन्ने सम्बन्धमा त विश्वलाई नै केन्द्रमा राखेर हेर्नु पर्छ । आज खण्डग्रास भएका कारणले यसको प्रभाव विश्वका धेरै ठाउँमा परेको छैन । लगभग विश्वका आधाभन्दा कम क्षेत्रमा यस्को प्रभाव नपरेको अनुमान गर्न सकिन्छ । जब खग्रास हुन्छ त्यतिखेर चाहिँ यसको प्रभाव अझ बढी देखिन्छ र कतिपय अवस्थामा चाहिँ विश्वका अरु गोलार्धमा, अरु भुगोलमा पनि खग्रास हुँदा नेपालमा यसको प्रभाव नपरेको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया