कस्तो हुनुपर्छ दाजू बहिनी र दिदी भाईको सम्बन्ध ?

लोकपथ
35
Shares

आज भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाईलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायू, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी टिका लगाएर यो पर्व मनाइँदैछ ।

भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने चलन छ । दाजुभाइलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूलथालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभिषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्या दिवनस्पत्यन्त देवताको समेत पूजा आजा गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गीटीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइ दिने गरिन्छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाईलाई ओखर, कटुस, मसला र सेलरोटी लगायतका मिष्ठान्न खानेकुरा दिने र दाजुभाइले दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक परम्परा छ ।

यस्तो होस् दाजुबहिनी र दिदीभाईको सम्बन्ध

यदाकदा फरक परिवारमा जन्मेका तर भाईटिका लगाउने, राखि बाँध्ने, विभिन्न अप्ठेरोमा साथ सहयोग दिने व्यक्तिबीचको सम्बन्ध पनि दाजु र बहिनीको सम्बन्ध भनेर अर्थ्याएका छन् ।

दाजु र बहिनीबीचको सम्बन्ध के हुने दाजुले बहिनीको हेरचाह र दाजुको बहिनीले हेरचाह कसरी गर्ने भन्ने सवाललाई यहाँ प्रस्तुत गरेका छौँ ।

नेपाली समाजमा महिलाका लागि सहोदर दाजुभाइ हुनु निकै रमाइलो हुन्छ । केहिले त भाग्यमानी मान्छेसँग मात्रै दाजुभाई हुने भन्दै आफ्ना दाजुभाईको सम्झना पनि गर्छन् । आफूभन्दा ठूलो दाजु हुनु त निकै ठूलो सौभाग्य हो । विशेषगरी तिहार, राखि बाँध्ने दिन दाजुु नभएका बहिनीले वा बहिनी नभएका दाजुले निकै खल्लो अनुभूति पनि गर्छन् ।
तर, कहिलेकाहिँ आफूले गर्न लागेको काममा दाजुले भाँजो हालिदिएको खण्डमा हामी नराम्रो मान्छौँ । त्यसैले तपाईं दाई हुनुहुन्छ भने तपाईले आफ्नी बहिनीप्रति यी जिम्मेवारीहरु जरुर पूरा गर्नुहोला ।

१. सल्लाहकारको रुपमा

दाजु घरका बाबाआमापछिका अभिभावक हुन् । उनले भनेको सकारात्मक किसिमको बाटोमा हिँड्दा कहिल्यैपनि बाधा अवरोध आउँदैन । यदि तपाई कसैको दाई हो भने तपाईंले आफ्नो बहिनीलाई वा भाईलाई अभिभावकत्व ग्रहण गर्नुपर्ने हुन्छ । उनीहरुको असल सल्लाहकार भएको खण्डमा परिवारमा कुनै किसिमको नराम्रो नोक्सानी पर्ने मामिला आउन पाउँदैन ।

त्यतिमात्रै होइन यस्तो समस्या जुन समाधानको लागि तपाईंकी बहिनीको क्षमता पुग्दैन बाबाआमासँग गएर भन्ने हिम्मत छैन भने त्यो समस्या समाधानका लागि पनि दाजुको भूमिका महत्वपूर्ण हुन्छ । हुन त बहिनीमाथि दाईको दबाब रहन्छ तर गोप्यतामा कहिले सम्झौता हुँदैन । त्यसैले पनि आफ्ना गोप्य कुरा भन्न बहिनी हिच्किचाउँदिनन् ।

यस्तो बेला तपाईंले सल्लाहकारको रुपमा भूमिका खेल्न सक्नुहुन्छ । तर, यो नठान्नुहोस् परिवारको सर्वैसर्वा तपाईं हो । वा परिवारको अन्तिम निर्णय दिने तपाई हो । दाजुको कडा आनीबानीको कारण बहिनीहरु भड्केको वा आफ्ना समस्या उनीहरुसँग लुकाएको भन्न नचाहेको पनि धेरै उदाहरणहरु छन् ।

२. अंगरक्षकको रुपमा

कुनै पनि बहिनीका लागि दाई सुरक्षा कवच जस्तै हुन् । उसले बहिनी घरमा रहँदा मात्र होइन घरबाट निस्किएर घरमै नफर्किँदा सम्म चिन्ता लिइराख्छ । यस्तो अवस्थामा तपाईले बहिनीको आनीबानी, साथीभाई, उसको भेटघाटबारे नियाल्नुपर्ने हुन्छ । उसलाई कसैले धम्क्याउँदा तर्साउँदा वा धाक धम्की, त्रास देखाउँदा तपाई ढाल बन्न सक्नुपर्छ ।

३. गोपनियता रक्षक

कतिपय कुरा यस्ता हुन्छन् जुन तपाईंबाट गल्ती भयो । अर्थात् सामाजिक सञ्जाल वा प्रविधिको गुणत्मक विकासका कारण तपाइको गोपनियता भंग भएको छ भने तपाईले अन्तिमपटक दाईसँग भन्नुभयो भने एकछिन आवेसमा आएर तपाईको दाईले तपाईप्रति रिस देखाउन सक्छन् तर तपाईका गोप्य कुराको व्यापार गर्न दाजुलाई कहिल्यै मन हुँदैन । त्यतिमात्रै हो र दाजुले बहिनीको इज्जतमा समस्या आउने कुनै पनि गोप्य कुरा कसैसँग गर्दैन । यसो हुँदा परिवारसँग छिपेका कुरा दाजुसँगै सेयर गर्न सहज हुन्छ ।

४. हेरचाह र तपाईंको सपोर्टर

प्राय घरमा दाजु र बहिनीको सुत्ने कोठा एउटै हुन्छ । अलिक उमेर भइसकेपछि भने फरक कोठामा सुतेपनि नजिकै जस्तै राखिन्छ । यसको कारण छ । बहिनीप्रति कुनै बेला आक्रमण भएको खण्डमा वा उनलाई सुरक्षा चाहिँदा उनको अगाडी तपाईं खडा हुनुपर्छ ।

रातिमा सुत्ने विषयमा मात्र होइन बिहानमा उठ्ने विषयमा हस्तक्षेप गर्ने र कोठामा सुरक्षाको अनुभव गराउने भूमिका दाजुले खेल्छ । दाइ बहिनीकोबीचमा झगडा नै परेन भने त्यो सम्बन्ध जिवन्त हुनै सक्दैन । खासमा महिलाको जीवनमा सबैभन्दा पहिलो ब्यक्ति जो झगडा गर्न आइपुग्छ त्यो पनि आफ्नै दाइ हो । त्यतिमात्रै होईन परिवारले तपाईंको विरुद्धमा हुने जस्तो लाग्ने कुनै निर्णय ल्याउँदा त्यसलाई छेक्ने एउटा मान्छे पनि तपाईको दाई हुनेछन् ।

५. आकर्षक गिफ्ट

कुनै चाडबाड वा तपाईंको कुनै विशेष दिनलाई अझै विशेष बनाउनको लागि तपाईंको दाईले उपहारस्वरुप दिनुभएको हरेक चिजले तपाईंको जीवनमा बहार ल्याउँछ । सोझो हिसाबले भन्दा दाईले बच्चादेखि बुढी हुँदासम्मै तपाईंलाई गिफ्ट दिनुहुन्छ ।

६. मार्गदर्शक साथी, पथप्रदर्शक र दार्शनिक

हरबखत ‘यसो गर् नानी, उसो गर् नानी’ भनेको सुनेर वाक्क लागेपनि मान्नुहोस् तपाईंको भन्दा ४ थान बढी भोटो उसले फटाएको छ । कुनैपनि स्त्रीको जीवनमा उसको दाजु सबैभन्दा पहिलो पथप्रदर्शक हो । घरीघरी तपाईंलाई सम्झाउने बेलामा ऊ दार्शनिक जस्तो पनि लाग्छ । तर, ऊ तपाईंको जीवनको राम्रो परामर्शदाता हो ।

७. प्रेरक व्यक्तित्व र असल साथी

कुनैपनि स्त्रीका लागि दाई हुनु भनेको बरदान नै हो । तपाईंलाई कुन ल्यापटप किन्ने वा कुन स्मार्ट फोन राम्रो भन्ने कुरामा अलमल भए जहिले पनि दाइसँग गए समाधान निस्कि हाल्छ । त्यतिमात्रै होईन तपाईले मन पराएको मान्छे, परिवार, तपाईको संगत पनि त्यो मान्छेसँग राम्रो छ कि छैन, भन्ने विषयमा राम्रो जानकारी दिन सक्छन् ।

८. सहयोगी

तपाईंलाई कतै जानुपर्ने भयो । सवारी साधनको उपलब्धता छैन अब तपाईंले जिस्काउँदै ठट्टा भएपनि दाईको सहयोग लिन सक्नुहुन्छ । त्यतिमात्रै होईन दाजुले पनि बहिनीबाट धेरै कुरा सिक्न सक्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?