काठमाडौं । चितवन क्षेत्र नम्बर ३ र गोरखा क्षेत्र नम्बर २ लाई फरक–फरक राख्दा आसन्न चुनावको विश्लेषण गर्नु त्यति सान्दर्भिक नहुन सक्छ । देशको राजनीतिलाई आफ्नो केन्द्रमा राख्ने क्षमता भएका प्रचण्डले अन्तिम समयमा चितवन–३ किन छाडे र गोरखा–२ लाई नै किन रोजे भन्ने प्रश्न उब्जनु स्वभाविकै हो ।
२०७४ देखि आफ्नो लाल किल्लाको रुपमा चितवनलाई तयार गरेका प्रचण्डलाई एकाएक गोरखा जानु पर्ने त्यस्तो बाध्यता चाहिँ के आइपर्यो ? भन्ने कुरा चाहिँ चुरो विषय हो ।
प्रचण्डको चुनावी इतिहास हेर्दा उनी अस्थिर नेताका रुपमा चिनिन्छन् । २०७९ सहित ४ पटक चुनावी मैदानमा आएका प्रचण्डले अहिलेसम्म कुनैपनि क्षेत्र दोहोर्याएको रेकर्ड छैन ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा रोल्पा र काठमाडौं–१० बाट विजयी भएका प्रचण्डले २०७० को दोस्रो संविधान सभा निर्वाचनमा आफ्नो चुनावी क्षेत्र परिवर्तन गर्दै सिरहा–५ बाट चुनाव लडे र विजयी पनि भए ।
उनको चुनावी क्षेत्र परिवर्तनको सिलसिला यत्तिमै थामिएन । २०७४ को निर्वाचनमा उनी चितवन–३ मा पुगे । अहिले गोरखा–२ बाट चुनाव लड्दै छन् ।
चितवन छाडेर गोरखा पुग्नुमा उनको अस्थिर स्वभाव पनि एउटा कारण हुनसक्छ । अर्कोतर्फ गठबन्धनको चुनावी भागबण्डा र राजनीतिको अन्तर्नीतिलाई पनि कारण मान्न सकिन्छ । उसो त सहज जितको खोजीमा प्रचण्ड गोरखा–२ पुगेको हुनसक्ने अनुमान भने सबैले सहजै रुपमा लगाउन सक्छन् ।
चितवन–३ मा डाक्टर र ठेकेदारको भिडन्त
चितवन क्षेत्र नं–३ मा अहिले नेकपा माओवादी केन्द्रबाट डा. भोजराज अधिकारी चुनावी मैदानमा छन् । उनलाई टक्कर दिन राप्रपाका विक्रम पाण्डे दलबलसहित तयारी अवस्थामा छन् । निर्माण व्यवसायी अर्थात ठेकेदारी पृष्ठभूमीका पाण्डे जबर्जस्त संसद छिर्ने दाउ छन् । चितवन–५ बाट दोस्रो संविधान सभामा विजयी पाण्डे माओवादीसँग ०७४ को हारको बदला लिने कसरतमा छन् ।
यता भरतपुर अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका डा. अधिकारी पनि सो क्षेत्रमा परिचित अनुहार हुन् । उसो त उनी पनि चितवन–३ मा माओवादीको जित दोहो¥याउने कोसिसमा छन् ।
चितवन– ३ मा यी दुई पार्टीका उम्मेदवारलाई टक्कर दिने अरु कुनैपनि उम्मेदवार मैदानमा देखिँदैनन् । यति भनिरहँदा बालेन शाह र हर्क साम्पाङको उदाहरण भने भुल्न सकिँदैन ।
स्थानीय तहको परिणामअनुसार माओवादीलाई सहज
स्थानीय तहगत रुपमा हेर्ने हो भने चितवनको क्षेत्र नं ३ मा भरतपुर महानगरको वडा नं ६, ८, ९ र १३ नम्बर वडादेखि २८ नम्बरसम्म पर्छ भने माडी नगरपालिकाका सबै वडाहरु यसै क्षेत्रमा छन् ।
सम्भावित चुनावी परिणामलाई आँकलन गर्न प्रयोग गरिने लोकप्रियमत अर्थात् वडाध्यक्षहरुले पाएको मतलाई आधार मानेर यस क्षेत्रमा अहिले नै परिणामको सम्भावना निर्धारण गर्न सकिँदैन ।
भरतपुरका अधिकांश वडामा नेपाली कांग्रेस विजयी भएकाले गठबन्धनको हिसाबमा माओवादी बलियो हुन सक्छ । तर, सधैँ जसो माओवादी र विक्रम पाण्डेबीचको जुँगाको लडाईँ हुने यस क्षेत्रमा पाण्डेलाई कमजोर मान्नु माओवादीको लागि ठूलो भूल हुनसक्छ ।
माडी नगरपालिकाको ९ वडामध्ये २ वटामा राप्रपा र ४ वटा वडामा माओवादीको वडाध्यक्ष भएकाले यहाँ लोकप्रियमतमा माओवादी बलियो देखिन्छ । त्यस्तै २ वटा वडामा जित निकालेको एकीकृत समाजवादी पनि माओवादीकै पक्षमा भएकाले डा. अधिकारीलाई माडीबाट ठूलो आशा रहेको बुझ्न सकिन्छ ।
कांग्रेसका बागी उम्मेदवार दिनेश कोइराला पनि मैदानमा भएकाले यसपटक यहाँको चुनावी परिणामको आँकलन त्यति सहज भने छैन । साथै, प्रत्यक्ष–अप्रत्यक्ष रुपमा एमाले पनि कोइरालाकै समर्थनमा भएकाले अवस्था फरक पनि हुन सक्छ । तर, चितवन ३ का एमाले कार्यकर्ताहरु विक्रम पाण्डेकै पक्षमा मत दिने पक्षमा रहेको देखिन्छ ।
कोइरालाको बागी उम्मेदवारीले विक्रम पाण्डेलाई भने केही सहजता भएको छ । कोइरालाले गठबन्धनकै भोट काट्ने भएकाले पनि पाण्डेलाई केहि राहत हुनसक्ने धेरैको अड्कल छ ।
०७४ को निर्वाचनलाई फर्केर हेर्दा…
०७४ को प्रतिनिधि सभा निर्वाचनमा प्रचण्ड ४८ हजार २७६ मतका साथ विजयी हुँदा विक्रम पाण्डे ३८ हजार ९३५ मतमै सिमित भए । त्यसबखत माओवादी र एमालेले चुनावी तालमेल गरेका कारण प्रचण्डलाई केही सहज भएको थियो । अर्कोतर्फ नेपाली कांग्रेसले सहयोग गर्दा पनि विक्रम पाण्डेले जित्न सकेनन् ।
यसपटक एमालेका कार्यकर्ताहरु पाण्डे र कोइरालाका पक्षमा बाँडिएका छन् भने कांग्रेस माओवादीको पक्षमा उभिएको छ ।
गोरखा–२ मा उक्लिएका प्रचण्डलाई बाबुरामको काँध
चितवन–३ लाई छाडेर यसपटकको चुनावमा प्रचण्ड गोरखा–२ बाट चुनाव लड्दै छन् । उनको विपक्षमा एमालेका अब्दुस सलाम मिया मैदानमा खडा भएका छन् ।
०७४ को प्रतिनिधि सभा निर्वाचनमा तत्कालिन नयाँ शक्ति पार्टीबाट ३१ हजार ८०७ मतका साथ माओवादीका नारायण काजी श्रेष्ठलाई हराउँदै बाबुराम भट्टराई विजयी भएका थिए । नारायण काजीले त्यसबखत २४ हजार ९३३ मत पाएका थिए ।
गोरखाको चुनावी हिसाब–किताबमा त्यति धेरै टाउको दुखाउनु पर्ने अवस्था भने छैन । पार्टीभन्दा पनि बाबुराम भट्टराईको नामकै आधारमा भोट गर्ने ठूलो जमात छ, यस क्षेत्रमा । यसपटक तीनै भट्टराईले प्रचण्डलाई काँध हालेका कारण उनको पक्षको भोट प्रचण्डको पक्षमा सुरक्षित भएको छ । उता माओवादी आफैंको भोट त छँदैछ ।
स्थानीय तहमा कम्जोर एमालेमाथी हाबी छ गठबन्धन
गोरखा–२ मा गोरखा नगरपालिकाको वडा नं ८ देखि १४ सम्म र पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, र अजिरकोट गाउँपालिका रहेको छ ।
भर्खरै भएको स्थानीय तहको निर्वाचनको आधारमा भन्ने हो भने यस निर्वाचन क्षेत्रमा पर्ने सबै पालिकामा एमाले गठबन्धनभन्दा धेरै मतान्तरका साथ पछाडि रहेको छ । पालिकाको नेतृत्व तहको त कुरै छाडौं एमालेले एउटा वडाध्यक्षको पदमा समेत जित निकाल्न सकेन ।
यहाँका सबै ठाउँमा कांग्रेस र माओवादी नै शिर्षस्थानमा छन् । एकातिर गठबन्धन, त्यसमाथि बाबुराम भट्टराईको साथ । प्रचण्डलाई गोरखामा ‘दुध र भात’ जस्तै भएको छ यसपटकको चुनाव ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया