प्रदेश २ सरकारलाई प्रचण्डले भने, ‘ओभरटेक’ गर्न मिल्दैन

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ सरकारलाई ‘ओभरटेक’ गरे मुलुकमा दुर्घटना हुन सक्ने बताएका छन् । 

मंगलबार जनकपुरमा आयोजित शुभकामना आदानप्रदान तथा प्रदेश पार्टी कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा अध्यक्षले सो कुरा बताएका हुन् । 

उनले प्रदेश २ सरकारले संघीय ऐन आउनुअघि नै प्रदेश प्रहरी ऐन ल्याएर मुलुकमा दुर्घटनाको निम्ता गरेको बताए । 

‘मुख्यमन्त्रीजी ओभरटेक गर्न थाल्नुभयो भने दुर्घटनाको खतरा हुन्छ । दुर्घटना न निम्त्याउनुस्, तपाईंको मागप्रति म गम्भीर छु’ अध्यक्ष प्रचण्डले भने । 

उनले थपे, ‘मौलिक अधिकारसम्बन्धी जरुरी ऐन पारित गर्नुपरेकोले संघीय प्रहरी ऐन ल्याउन केही ढिलो भयो । ढिलो भयो भन्दैमा ओभरटेक गर्न मिल्दैन । ओभरटेक गरे दुर्घटना हुन्छ ।’

त्यस्तै काठमाडौंबाट अलग मधेश बनाउन खोजे मधेशी जनाताले धोका पाउने बताउँदै उनले भने, ‘मधेशलाई काठमाडौंबाट अलग गरी मधेशी जनताको माग पूरा हुँदैन ।’ 

अध्यक्ष प्रचण्डले देश विखण्डनले मधेशी नागरीकको माग पूरा नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?