काठमाडौं ।
आज विजया दशमी पर्व ।
सद्भावको चाड । एकताको चाड । हरेक नेपालीलाई एक ठाउँमा ल्याउने चाड । अर्थात, दशैँ । नेपालीहरुको ठूलो चाड हो दशैँ । यतिबेला घरघरमा दशैं आएको छ । एक वर्षको प्रतिक्षा आज समाप्त भएको छ । हरेकको घरमा खुसी छाएको छ ।
शरद ऋतुको यो मनमोहक मौसममा बेग्लै रौनक छाएको छ ।
नीलो आकाशमा कोही चंगा उडाइरहेका छन्, कोही पिङमा मच्चिइरहेका छन्, शहरमा अस्थायी बसोबास गर्नेहरु घर–गाउँ फर्किएका छन् । सर्वत्र उल्लास छाएको छ । त्यसैले त, दशैँ आएको छ । त्यसैले त यसको महत्व अत्याधिक छ । नीलो आकाशमा रंगिचङगी चंगा, पिङमा मच्चिइरहेका केटाकेटी, गाउँ फर्केका जागीरे, लामो विछोडपछि भेटिएका परदेशी मायालु, गफिदै गरेका अधबैँसे ।
हो, साँच्चै दशैँ खास छ ।
आज वियजया दशमी ।
असोज शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन नौ देवीको पूजापाठ गरि आज विजय दशमी मनाइँदै छ ।
घटस्थापनामा जमरा राखी नवमीसम्म दुर्गा सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा र शक्तिस्वरुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित प्रसादका रुपमा टीका र जमरा ग्रहण गरिन्छ ।
असत्यमाथि सत्यको जित हुन्छ भन्ने मनो–सामाजिक सन्देश बोकेको यो चाडको आफ्नै विशिष्ट महत्व छ । धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक जुनसुकै कोणबाट दशैंको महिमा गाउन सकिन्छ ।
यसपालीको टिकाको साईत ९ बजेर ५१ मिनेटबाट शुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितीले जनाएको छ ।
वर्षदिनमा आफन्त, इष्टमित्रबीच सौहाद्रपूर्ण सम्बन्ध स्थापित गर्ने मेलो हो यो । दशैंले ठूलाबडा, मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने सिकाउँछ । यतिबेला दुर्गा पूजा गरिन्छ । दुर्गा शक्तिकी प्रतिक ।
हामीकहाँ तिहारमा लक्ष्मी अर्थात धनकी देवी, सरस्वती पूजा अर्थात विद्याकी देवी र दशैंमा दुर्गाको पूजा गरिन्छ । वास्तवमा, यी तीन कुरा अर्थात शक्ति, विद्या र धन हाम्रो जीवनका लागि महत्वपूर्ण हुन्छन् ।
माता दुर्गाको उपासना र पूजा अर्चना गरी यो पर्व मनाउने गरिन्छ । घटस्थापनादेखि शुरु हुने दशैँ कोजाग्रत पूणिर्माका दिनमा समापन हुन्छ । घटस्थापनादेखि पहिलो नौ दिनसम्म नवरात्री पूजा गरिन्छ ।
दशमी अर्थात् विजयादशमीको दिन आफन्त, इष्टमित्र भेला भएर दुर्गा पूजा गर्ने । मान्यजन तथा आफूभन्दा ठूलाबाट टीका थाप्ने, आशिर्वाद लिने गरिन्छ ।
दशैँमा टीका लगाउँदा आशिर्वाद दिइन्छ, संस्कृतका ऋचा उच्चारण गर्दै । चार हरफको ऋचाले गहिरो अर्थ बोकेको छ । यसले विभिन्न पौराणिक पात्रलाई आदर्शका रुपमा उल्लेख गर्दै जीवनलाई सुन्दर बनाउने सूत्र दिएको छ ।
दशैँमा घरमा आफूभन्दा ठूला सदस्यबाट आशिर्वाद लिने चलन छ । अनि मान्यजनका घरमा गएर टिका थापिन्छ । वर्षदिनमा एकपल्ट मामाघर जान पाउने भएर हुनसक्छ । केटाकेटी दंग देखिन्छन् ।
दशैंको विशेषता
दशैँ दश दिनसम्म विभिन्न तरिकाले रमाइलो गरी मनाइने हुनाले यसलाई दशैँको नामले परिचित गरिएको भन्ने बुझिन्छ ।
घटस्थापनाको दिनमा विभिन्न थरीको विउविजनहरु उमारी नौ दिनसम्म विविधत रुपमा पूजापाठ गरी उमारिएको जमरा दशैं दिनमा ग्रहण गरिने हुनाले पनि दशैंलाई खास महत्वपूर्ण चाडको रुपमा लिइन्छ ।
दशैँ दिनमा घरपरिवार आफन्तजनहरुसँगै बसी टिका र जमराका साथसाथै आर्शीवाद आदानप्रदान गर्ने चलन छ । दशैँ दिनमा लगाउन शुरु गरिएको टिका पूर्णिमाको दिनसम्म लगाइन्छ । टाढा टाढा भएका आफन्तजन कहा जानको लागि मौका मिल्नेछ ।
दशैँ परापूर्वक कालदेखि नै मनाउँदै आएको धार्मिक एवम् साँस्कृतिक परम्परा हो । यस पर्वसँग विभिन्न देवी देउताको नामहरु पनि जोडिएको छ । राम र रावणको युद्ध, देवी र महिषासुर आदिसँग जोडिएको पाइन्छ । दशैँमा महालक्ष्मी, सरस्वतीको पूजा गरी शक्ति आर्जन गर्न सकिने विश्वासकै कारण दशैँलाई खासगरी शक्ति र साधनाको रुपमा पनि मनाउन थालिएको हो ।
दशैँमा नयाँ कपडा लगाउने, मासु चिउरा खाने परम्परा नयाँ नभएतापनि आधुनिकताले जरो गाडेको वर्तमानमा भिन्न किसिमले सदिऔँको परम्परामा निखरता प्रदान गरेको अनुभूति दिलाउँछ । आफ्ना आवश्यकतालाई ध्यानमा राखेर मात्र औसत खर्च गर्नु उपयुक्त होला । नत्र दशैँको नाममा ‘दशा’ भित्रन सक्छ ।
दशैँको पहिलो दिनलाई घटस्थापना पनि भन्ने गर्दछ । यसै दिनदेखि विविधत् रुपमा दशैँको सुरुवात भएको मानिन्छ । यस दिन विभिन्न जौ, गहुँ मकै लगायतका विभिन्न अन्नवाली गेडागुडी छर्ने गर्दछ । कलश दीप बाली जमरा राख्ने परम्परा रहि आएको छ । बिहानै नुवाइधुवाई गरेर देवीलाई खुसी पार्न सुन्दर चोलाको कपडा, काँचो धागो, काइँयो लगायतका बस्तुहरु चढाइने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया