दशैँका अवसरमा सामूहिक भोज

बलेवा । दशैँका बेला घरघरमा खसी काट्ने परम्परा अन्त्य गर्ने उद्देश्यका साथ जैमिनी नगरपालिका–१ जलुकेनी, अर्खलापाटाका २० परिवारले सामूहिक खसी काटेर दशैं भोज गरेका छन् । 

सबैको घरमा खसी काटेर दशैँ मनाउने अवस्था थियो, यसले हुनेखाने र हुँदाखानेको बीचको दशैँ फरक हुने भएकाले यसको अन्त्यका लागि यहाँका युवाहरुको सक्रियतामा २० परिवारका लागि एकै ठाउँमा सामूहिक भोजको आयोजना गरिएको हो । 

गाउँका सबैलाई दशैंको महसूस गराउनका लागि यो कार्यक्रमको आयोजना गरीएको बताइएको छ । बीस परिवारका लागि एउटा खसी काटेर सबै सदस्यलाई खानपिनको व्यवस्था मिलाएको छ । 

“पछिल्लो समय दशैंको नाममा अत्याधिक खर्च गर्ने प्रवृत्तिको विकास हुँदै आएको छ” जैमिनी–१ अर्खलापाटाका रविन्द्र शर्माले भन्नुभयो “दशैंलाई सबैको साझा र उल्लासमय पर्वको रुपमा विकास गर्नका लागि सामूहिक भोजको आयोजना गरीएको हो ।” 

सबैलाई पायक पर्ने बारीको पाटामा सेल रोटी पकाएर खसीको मासुसँग सबैलाई भोजन गराएर शुभकामना आदानप्रदान गरी मनाइएको सामूहिक भोजमा वृद्धवृद्धादेखि बालबालिकासम्मको सहभागीता थियो । 

“कोही कामको खोजिमा विदेशिएका छन्, त कोहि स्वदेशका विभिन्न ठाउँ तथा कोहि गाउँघरमा नै खेती किसानी गरेर बसेका छन्” अर्खलापाटकै पवन आचार्यले भन्नुभयो “एकै गाउँका दाजुभाईको बीचमा चिनजानसमेत नहुँने वातावराण बन्दै गएपछि सामूहिक भोज गर्दा चिनजान गर्ने अवसर पनि पाइएको छ । ” 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?