काठमाडौं । बडादशैँको नवौँ दिन महानवमी पर्व । आज देशभर शक्तिस्वरूपा दुर्गा भवानीको पूजाआराधना गरी महानवमी पर्व मनाईँदैछ ।
घटस्थापनाका दिन आ–आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने गरिन्छ ।
महानवमीका अवसरमा आज (बिहीवार) दशैँघर र कोत लगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेंडा र राँगाको बलिसहित विशेष पूजाअर्चना र दुर्गा सप्तशती पाठ गरिन्छ ।शाकाहारीहरूले भने कुभिन्डो, घिरौँला र मूला लगायतको बलि दिने र नरिवल चढाउने गर्छन् ।
पुराण अनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यो पर्वलाई विशेष महत्वका साथ लिइन्छ । आज कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशान पूजा पनि गरिन्छ ।
महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बलि दिएर जङ्गी निशानपूजा तथा कोतपूजा गर्ने चलन छ ।
हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि वर्षमा एक पटक महानवमीको दिन मात्र खोलिन्छ ।
हनुमानढोकाको दशैँघर लगायत कतिपय समुदायले हिजो महाअष्टमीको मध्यरातमा शक्तिस्वरूपा दुर्गा भवानीको पूजाअर्चनाका साथ आ–आफ्नो परम्पराअनुसार राँगा र बोकाको बलि दिई कालरात्री मनाएका छन् ।
आजै सवारी साधनलाई पनि बलि दिएर पूजा गर्ने चलन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया