हिमआँधीमा परेर मृत्यु भएका ८ जनको शव काठमाडौँ ल्याइयो

काठमाडौं–म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा अवस्थित गुर्जा हिमाल आरोहणका क्रममा आधार शिविरमै हिम आँधीमा परेर ज्यान गुमाएका आठ जनाको शव आज पोखरा हुँदै काठमाडौँ ल्याइएको छ ।

शुक्रबार बेलुकी गुर्जा हिमालमा अचानक आएको हिउँ आँधीमा चार नेपाली र पाँच कोरियालीसहित नौ जनाको निधन भएको थियो । हेलिकप्टरमा घटनास्थल पुगेका तालीमप्राप्त उद्धारकर्मीको टोली आधार शिविरमा छरिएर रहेका शव सङ्कलन गरी चार खेपमा गुर्जा पु¥याउन सफल भएको थियो । घटनास्थलबाट सिम्रिक एयरको हेलिकप्टरमार्फत पोखरा ल्याइएको शव आज साँझ काठमाडौँ पठाइएको पोखरा विमानस्थलमा खटिएका प्रमुख प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।

धवलागिरि–१ गुर्जाका २९ वर्षीय नेत्रप्रसाद छन्त्यालको शव भने जिल्ला सदरमुकाममा परीक्षण गरी गाउँमै लगेर आफन्तको जिम्मा लगाइएको छ । यही असोज २४ गते राति सुतिरहेको अवस्थामा आएको हिउँ आँधीमा परेर सङ्खुवासभा, हटियाका ३९ वर्षीय छिरिङ भोटे, भोटेखोला गाउँपालिका–३ का २१ वर्षीय लाक्पासाङ्बु भोटे, सोलुखुम्बुका फुर्वा भोटे, दक्षिण कोरियाका जहन ली, च्याङ हो किन, इल जिन रिम, योङ जिक यु र जुन सो जियोङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?