म्याग्दी । गुर्जा हिमाल आरोहणमा गएका ८ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।
म्याग्दीको धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमाल आरोहणमा गएका पाँच कोरियन नागरिक र ४ जना नेपाली भरियाहरु छन् । उनीहरु काठमाडौंको प्रोजेक्ट वे नामक ट्रेकिङ एजेन्सीबाट गुर्जा हिमाल चढ्न गएका थिए ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार उनीहरु हिम पहिरो र आँधीमा परेका थिए । घटनास्थल विकट भएकाले उद्धार र खोजी कार्य प्रभावित भएको छ ।
शनिबार बिहान पोखराबाट गएको हेलिकोप्टर पनि अवतरण गर्न नसकेर फर्किएको छ । मौसममा सुधार भएपछि मध्याह्न पुनः खोजीमा जाने डिएसपी बीरबहादुर बुढामगरले जानकारी दिए ।
गुर्जा हिमाल चढ्नका लागि आरोहण टोली गुर्जा गाउँबाट २१ गते बेसक्याम्पतर्फ हिँडेको थियो । टोलीमा भरिया गुर्जा गाउँकै बासिन्दा थिए । उनीहरु सम्पर्कमा नआएपछि स्थानीयबासी खोजीका लागि शुक्रबार बेसक्याम्प गएका थिए ।
खोजीका लागि स्थानीयबासी बेसक्याम्प जाँदा टेन्टहरु उडाएको, चिन्न नसकिने अवस्थामा शवहरु फेला परेपछि उनीहरुले शुक्रबार साँझ प्रहरीमा खबर गरेका थिए ।
गाउँले प्रहरीमा खबर गरेपछि शनिबार बिहनैदेखि खोजी र उद्धार टोली परिचालन गरेको डिएसपी बुढामगरले बताए ।
पश्चिम हिमालको नामले समेत चिनिने गुर्जा ६ हजार ४६५ मिटर अग्लो छ ।
२०६५ सालपछि यस वर्ष मात्र हिमाल आरोहीको गुर्जा हिमाल चढ्न आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया