निर्मला हत्या प्रकरण : दसैंसम्म आन्दोलनका कार्यक्रम स्थगित

कञ्चनपुर- निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अपराधी पत्ता लगाउन माग गर्दै मंगलबार पनि महेन्द्रनगरमा प्रदर्शन भएको छ । स्थानीय महिला तथा अधिकारकर्मी र पीडित परिवारले महेन्द्रनगर बजारमा र्‍यालीसहित प्रदर्शन गरेका हुन् ।

घटनाको ७६ दिनसम्म पनि दोषी पत्ता नलागेको भन्दै र्‍यालीसहित बजार परिक्रमापछि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको थियो । ‘उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनले दोषी देखाएका व्यक्तिहरूलाई फौजदारी कानुनमा व्यवस्था भए अनुरूप कारबाही हुनुपर्छ,’ ज्ञापनपत्रमा उल्लेख छ, ‘घटनाको अनुसन्धान अहिले पनि सही दिशामा अघि बढ्न सकेको छैन, यसतर्फ पनि गृह मन्त्रालयको ध्यान जाओस् ।’ नागरिक संघर्ष समिति संयोजक मिना भण्डारीले ज्ञापनपत्र पढेर सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टलाई बुझाएकी हुन् । सहायक प्रजिअ विष्टले ज्ञापनपत्र जस्ताको तस्तै गृह मन्त्रालयमा पठाइदिने बताए ।

महेन्द्रनगरको मदन चोकमा नागरिक संघर्ष समितिले उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिकको माग गर्दै १० दिन धर्ना दिएको थियो । आइतबार प्रतिवेदन सार्वजनिक भएपछि सोमबारदेखि धर्ना स्थगित गरिएको छ । प्रदर्शनपछि मदनचोकमा कोणसभा आयोजना गरी दसैंसम्मका लागि सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित भएको संयोजक भण्डारीले बताइन् । उनले पर्वमा घर फर्किनेहरूलाई असहज हुने र व्यवसाय पनि प्रभावित हुने भएकाले तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरिएको बताइन् । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?