वामदेवको प्रतिस्पर्धीमा रामचन्द्रदेखि अर्जुननरसिंह सम्मको चर्चा, विवेकशील साझा पनि छैन कमजोर

काठमाडौं– काठमाडौँ क्षेत्र नम्बर ७ बाट संघीय सांसदमा निर्वाचित रामवीर मानन्धरले पदबाट राजीनामा दिने भएसँगै एकाएक राजनीतिक माहोल तातिएको छ । उनले बर्दिया क्षेत्र नम्बर १ बाट पराजित नेकपा नेता वामदेव गौतमका लागि ठाउँ खाली गर्न राजीनामा दिने घोषणा गरेसँगै राजनीतिक एकाएक तातिएको हो ।  

राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मानन्धरले आफूले राजीनामाका लागि पार्टीसमक्ष निवेदन दिइसकेको जानकारी दिए । यद्यपी उनले पार्टीको दबबामा नभई स्वेच्छाले राजीनामा दिने सोच बनाएको दाबी गरेका छन् ।

पार्टी एकीकरणमा नेता वामदेव गौतमको महत्वपूर्ण योगदान रहेकाले मुलुकको विकास र समृद्धिको कार्यसूचीलाई थप प्रभावकारी ढङ्गबाट अघि बढाउन उनको संसदमा उपस्थिति खड्किएको हुँदा त्यसमा योगदान होस् भनेर आफूले राजीनामा दिएको सांसद मानन्धरको भनाई छ ।

१० मंसिर, ०७४ मा भएको संघीय संसदको निर्वाचनमा उनी १८ हजार १०२ मत ल्याएर निर्वाचित भएका थिए । जवकी उनका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका विक्रम बहादुर थापाले १० हजार ७९ मत ल्याएका थिए । सो निर्वाचन क्षेत्रमा काँग्रेस र राप्रपाको गठबन्धन उम्मेदवारका रुपमा त्यतिबेला थापा साझा उम्मेदवार रहेका थिए  भने मानन्धर वाम गठबन्धनको उम्मेदवार थिए ।
 

उपनिर्वाचनमा रोचक भीडन्त हुने निश्चित
नेकपाको आगामी २७ गते बस्ने सचिवालय बैठकले यसबारे औपचारिक निर्णय लिने अपेक्षा गरिएको छ । यद्यपी मानन्धरले राजीनामाको घोषणा गरिसकेको अवस्था र गौतमले पनि उपनिर्वाचन लड्न इच्छा देखाइसककाले बीचमा कुनै गडबढ नभए उपनिर्वाचन हुने लगभग निश्चित छ । समामुखमार्फत मानन्धरले राजीनामा दिएको पत्र बुझाएपछि काठमाडौं क्षेत्र नम्बर ७ मा उपनिर्वाचनको ढोका खुल्ला हुनेछ ।

बर्दियाबाट काँग्रेसका सञ्जय गौतमसँग नराम्ररी पछारिएका गौतमका लागि काठमाडौं ७ पनि फलामको च्यूरा चपाए सरह हुने निश्चित छ । पहिलो त गौतम काठमाडौं ७ का नयाँ अनुहार हुन् । नेवार समूदायको बाहूल्य रहेको यो क्षेत्रमा  विपक्षीले सोही प्रकृतिको उम्मेदवार खडा गरिदिएको अवस्थामा निकै दवावमा पर्न सक्छन् ।

दोस्रो त बर्दियाका जनताबाट अनुमोदन हुन नसकेका गौतम पदलोलुप भएको भन्दै विपक्षी चुनावी हतियार बनाउन सक्छन् र जनतामा पनि त्यही छाप पर्न सक्छ । अहिले सामाजिक सञ्जालमा आगोको भुससरी सक्लिएको वामदेवको प्रतिकूल हुने खालका टिकाटिप्पणी पनि हितकर हुने छैनन् ।

तेस्रो चुनावमा वाम गठबन्धनमाथि जनताको जुन अपेक्षा थियो त्यसअनुसार वाम सरकारले काम गर्न नसकेको भन्दै जनतामा निराशा रहेको छ ।  देशमा मौलाएको महंगी, भ्रष्टाचार र बेथितिले आजित भएका जनताले उपनिर्वाचनबाट वाम सरकारलाई पाठ सिकाइदिन सक्छन् ।

चौथो  गौतमका लागि प्रमुख प्रतिद्धन्दी मानिएको दल काँग्रेसले उठाउने उम्मेदवार पनि चुनौति बन्न सक्छन् । हाल उपनिर्वाचनको बहस सतहमात्रै आएको अवस्थामा काँग्रेसले यही उम्मेदवार उठाउला भन्न सकिने अवस्था त छैन । तर जानकारहरुका अनुसार उपनिर्वाचनको अवस्था आए काँग्रेसले सशक्त र प्रभावशाली उम्मेदवारलाई मैदानमा उतार्ने निश्चित छ ।

काँग्रेसका एक नेताका अनुसार वामदेवसँग भिड्नका लागि पार्टीले वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रभावशाली नेताहरु कृष्ण सिटौला, अर्जुन नरसिंह केसी, विश्वप्रकाश शर्मामध्येबाट पनि एकजनालाई मैदानमा उतार्न सक्ने सम्भावना छ ।

पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट नेकपाका कृष्ण कुमार श्रेष्ठसाग पराजित भएका थिए । यसैगरी कृष्ण सिटौला झापा क्षेत्र नम्बर झापा क्षेत्र नम्बर ३ बाट राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए भने शर्मा झापा क्षेत्र नम्बर १ बाट राम कार्कीसँग पराजित भएका थिए । प्रभावशाली नेता हुँदाहुँदै पनि उनीहरु झिनो मतका साथ वामगठबन्धनका उम्मेदवारसँग पराजित बन्न पुगेका थिए ।

यसैगरी काँग्रेसभित्रका अर्का प्रभावशाली नेता अर्जुन नरसिंह केसी नुवाकोट क्षेत्र नम्बर २ बाट तत्कालिन एमालेका जिल्लास्तरीय नेता नारायण प्रसाद खतिवडासँग पराजित भएका थिए ।

जिल्लास्तरमा सीमित उनले वाम गठबन्धनकै आँधीबेहरीको भरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय छवि बनाइसकेका केसीलाई पराजित गरेका थिए । उनले केसीलाई पराजित गरेपनि उनी जिल्लामा आलोचित बन्न थालेको स्वयम् नेकपाका कार्यकर्ता बताउँछन् । सांसद भएपनि जनताको पक्षमा सिन्को समेत भाच्न नसकेका नुवाकोट क्षेत्र नम्बर २ का एक स्थानीय बताउँछन। बरु पराजित भएपनि उनै केसीले विकासनिर्माणमा पहल गरिरहेको उनको दाबी छ ।

उनैक विकासप्रेमी र काँग्रेसका हस्ती केसीलाई काँग्रेसले पनि उपनिर्वाचनान उम्मेदवारको रुपमा अघि सार्न सक्ने सो पार्टीभित्र चर्चा छ ।

यसबाहेक लोकप्रिय छवि बनाएका तर गत चुनावमा टिकट नपाएका धनराज गुरुङ र तनहुँ २(१) बाट आशा कोइरालासँग पराजित प्रदीप पौडेललाई पनि उम्मेदवारको रुपमा काँग्रेसले अघि सार्ने सम्भावना छ । काँग्रेसका लागि यो उपनिर्वाचन प्रतिष्ठाको विषय पनि भएकाले सशक्त र वामदेवलाई हराउन सक्ने हैसियतका नेतालाई उपनिर्वाचनमा उम्मेदवार बनाइनु पर्ने नेताहरु बताउँछन् ।

कममजोर छैन वैकल्पिक शक्तिपनि
गत चुनावमा यो क्षेत्रमा मुख्य त वामगठबन्धनको उम्मेदवार र प्रजातान्त्रिक गठबन्धनका उम्मेदवारबीच मुख्य टक्कर भएको थियो ।

यसबाहेक साझा विवेकशील पार्टीका उम्मेदवारले पनि सम्मानजनक मत ल्याएको थियो । त्यतिबेला विवेकशीलकी अनुपा श्रेष्ठले ५ हजार ३७३ मत ल्याउँदै तेस्रो स्थान हासिल गरेकी थिइन् । अहिले वैकल्पिक शक्तिको चर्चा समेत सतहमा आएको

अवस्थामा विवेकशीललाई शसक्त उम्मेदवार मान्न सकिन्छ ।

 गत निर्वाचनमा काठमाडौं ७ मा १४ उम्मेदवार चुनावी मैदानमा थिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?