दशैँका लागि सोह्र हजार भेडाच्याङ्ग्रा

मुस्ताङ ।  दशैँका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडौँ लगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका हुन् । 

भेडाच्याङ्ग्रा खरिद गर्न देशका विभिन्न ठाउँका व्यापारी जोमसोम आइपुगेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जोमसोमस्थित सेवा केन्द्रले हालसम्म १६ हजार भेडाच्याङ्ग्रा बिक्री भइसकेको जनाएको छ । सोरबारसम्म १० हजार भेडा र ६ हजार च्याङ्ग्रा बिक्रीका लागि स्वास्थ्य परीक्षण गरिएको केन्द्रका पशु चिकित्सक डा शिव भुसालले जानकारी दिए । 

दशैँका लागि जिल्लाबाट करीब २० हजार भेडाच्याङ्ग्रा बिक्री हुने अनुमान गरिएको छ । नेपाल खाद्य संस्थानले यस वर्ष मुस्ताङबाट एक हजार च्याङ्ग्रा काठमाडौँ लैजाने भएको छ । पाँच सय ५० च्याङ्ग्रा मुस्ताङबाट पठाइसकेको संस्थानको जोमसोमस्थित कार्यालयका प्रमुख गङ्गाप्रसाद शाहले बताए । 

थप ४५० च्याङग्रा खरिद गरेर पठाउने तयारी भइरहेको छ । मुस्ताङमा एउटा च्याङग्रा  १७ हजारदेखि  २२ हजार तथा भेडा  १४ हजारदेखि  १७ हजारका दरले खरिद बिक्री भइरहेको छ । प्रतिकिलो ५३० का दरले च्याङ्ग्रा खरिद गरेको संस्थानले काठमाडौँमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो  ६५० का दरले बिक्री गर्ने जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?