रौतहट- लालबकैया नदीमा डुंगा दुर्घटना भएको झन्डै ६ सातापछि पप्पु कन्स्ट्रक्सनले मृतकका परिवारलाई रकम दिएको छ । स्थानीय प्रशासनलाई जानकारी नै नदिई कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारका नातेदारले सोमबार पीडितलाई घरमै भेटेर ‘सुटुक्क’ रकम दिएका हुन् । डुंगा दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो । मृतकका परिवारलाई ३ लाख ५ हजारका दरले पैसा दिइएको छ ।
पीडित परिवारलाई पैसा बुझेको कागजमा हस्ताक्षर गराइएको छ । पप्पु कन्स्ट्रक्सनका संस्थापक अध्यक्ष हरिनारायण रौनियारका ज्वाइँ डा.महेश्वर कुर्मी आएर रकम दिएको मृतक परिवारका सदस्य रामबाबु साहले बताए ।
‘अब पुलको काम पनि चाँडै सुरु गर्छौं भनेका छन्,’ उनले भने, ‘विगतमा जे भयो, अब काम गर्ने वातावरण मिलाइदिनुपर्यो भनेर अनुरोध गरेपछि मानेका हौं ।’ साहकी आमा शान्तिदेवीको दुर्घटनामा निधन भएको थियो । वडाध्यक्ष भुवनेश्वरप्रसाद शाहीले पीडित परिवार र पप्पु कन्स्ट्रक्सनका प्रतिनिधिसँग मध्यस्थता गरेका थिए । उनकै रोहवरमा पीडितले पैसा बुझेका हुन् । ‘मृतक परिवारलाई ५ लाख दिनुस् भनेका हौं,’ वडाध्यक्ष शाहीले भने, ‘३ लाख ५ हजारमा सहमति भएपछि रकम बुझेका हुन् ।’ पुल निर्माणको काम सुरु भएपछि मृतक परिवारका सदस्यलाई त्यहीं रोजगारी दिने भनेर पनि पप्पुका आफन्तले फकाएको स्थानीयले बताएका छन् । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया