दशैँ खर्च उठाउन कालोपत्रे, नौबिसेबाट थानकोट पुग्न दश घण्टा

काठमाडौँ । दशैंको पूर्वसन्ध्यामा काठमाडौं खाल्डो छोड्नेको लर्को नै लाग्न थालेको छ । तर, काठमाडौँ उपत्यका बाहिरिने मुख्य नाका नागढुङ्गाको जामले भने नमीठो हैरानी दिएको छ । 

साँझ चार बजे गोंगबु नयाँ बसपार्कबाट सुर्खेतका लागि हिँडेका ललित सागर रसाइली नागढुङ्गा जामका कारण बिहान पाँच बजेमात्र काठमाडौं खाल्डोबाट बाहिर निस्केको बताउँछन् । 

काठमाडौं छोड्नेहरूको मात्र होइन भित्रिनेहरूको कथा व्यथा पनि त्यस्तै । राहत शिक्षकको आन्दोलनमा सहभागी हुन दाङबाट काठमाडौं आउँदै गरेका लक्ष्मण चौधरी १० घण्टा जाममा परेको बताउँछन् । 

हिजो साँझ पाँच बजे धादिङको नौबिसे पुगेका शिक्षक चौधरीले भने, ‘आज बिहान नौ बजेमात्र बसपार्क आइपुगेँ ।’

कलंकी–नागढुङ–खानीखोला–नौबिसे सडक खण्डमा प्रत्येक दिन घण्टौँ जाम हुने गरेको छ । यही जामका कारण तीन दिनअघि एक बिरामीको बाटैमा मृत्यु भएको जानकारी प्रहरीले नै दिएको हो । 

देशका विभिन्न जिल्लाबाट बिरामी बोकेर आएका एम्बुलेन्सहरू समेत घण्टौँ समयसम्म जाममा पर्दा समस्या देखिएको छ ।

सडक कालोपत्रे गर्ने कार्यसँगै जामको समस्या सात दिनसम्म रहने जानकारी सडक विभागले दिएको छ ।

आसन्न दशैँ र तिहार मनाउन घर फर्किनेहरूको भीडसँगै नागढुङ्गा सडक कालोपत्रे गर्ने नाममा सम्पूर्ण सवारी साधन साँझ आठ बजेदेखि पछिल्लो बिहान पाँच बजेसम्म ठप्प पारेपछि जामको समस्या जटिल बन्दै गएको हो । 

गल्छी–महादेवबेसीसम्मको यातायात सहज नै छ, त्यसपछि धार्के लाग्यो कि, जामैजामको समस्या छ । एक यात्रुले भने, ‘चाडवाडको मुखमा जाम हुँदा दुख पाइयो ।’

दशैँ खर्च उठाउन कालोपत्रे 

सर्वसाधारणले नागढुङ्गा सडक कालोपत्रे गर्ने कार्यको विरोध गरेका छन् । 

पिपलबोटदेखि नागढुङ्गासम्मको करीब एक किलो मिटर सडक कालोपत्रे गर्ने नाममा सम्पूर्ण यातायातका साधनहरू नौ घण्टा रोकेर दुःख दिएको आरोप लगाएका छन् ।

काठमाडौं भित्रिँदै गर्दाको अवस्थामा नौ घण्टा नौबिसेको जाममा फस्दा निकै कष्ट भोग्नु परेको पीडा यात्रुको छ । भदौंमा नै कालोपत्रे गर्नुपर्ने सडक ठेकेदारहरूले असोजमा दशैको मुखामा आएर गरेको प्रति उनीहरूको विरोध छ । 

रातभर जाम

चाडबाडको बेलामात्र नभई अन्य समयमा पनि त्यत्तिकै जाम हुने नौबिसे–नागढुङ्गा सडकखण्डमा सडक कालोपत्रे कार्यले थप जामको समस्या थपेको छ । 

साँझ आठ बजे खानी खोला पुगेका कुनै पनि सवारी साधनहरू नागढुङ्गा उकालो चढ्न पाउँदैनन् । यता काठमाडौंबाट बाहिरिएका सवारी साधनहरू थानकोटभन्दा उता कट्न पाउँदैनन् । 

जुन सवारी साधन जहाँ पुग्यो, त्यहीँ ‘साइड’ लगाएर आराम गर्नुपर्ने बाध्यता आइपरेको छ । ओभरलोड भएका ट्रकहरूका कारण नौबिसे उकालो जामका लागि नमूना सडक हो त्यसमाथि अहिले झन् विकराल बन्दै गएको छ ।

जामको अर्को समस्या ट्रक–कन्टेनर

सडक कर्नरमा ट्रक तथा कन्टेनर पार्किङ गरी राख्ने र ओभरलोडका कारण सुस्त गति हुने भएकाले पनि नागढुङ्गा उकालोमा जामको समस्या बढी हुने गरेको छ । 

ट्रक तथा कन्टेनरहरू सडक छेउछाउ पार्किङ गर्ने, लोडका कारण बिस्तारै गुड्ने र बिग्रिएर बीच सडकमै थन्किने भएकाले जामको समस्या बढी हुने गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी निरीक्षक केशव भट्टले भने, ‘ओभरलोडका सवारी साधन बिग्रिएमा तान्नका लागि दुईटा क्रेनको व्यवस्था गरेका छौं ।’

तर, सडक कालोपत्रे गर्ने कार्यसँगै जाम कम गर्न एकतर्फी सडक खुलाउने विषयमा छलफल भइरहेको थप जानकारी पनि उनले दिए ।

कलंकीदेखि नौबिसेसम्म जाम

काठमाडौंको कलंकीदेखि धादिङको नौबिसेसम्मको सडक खण्डलाई जाम मुक्त बनाउन ट्राफिक प्रहरीले विशेष तयारी नै गरेको बताउँछ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्तराम पन्तले कलंकीदेखि नागढुङ्गासम्म महानगरीय ट्राफिक प्रहरी बृत्त कालिमाटी र नागढुङ्गादेखि नौविसेसम्मको सडक हेर्न नागढुङ्गा ट्राफिक प्रहरीलाई परिचालन गरिएको बताए ।

नागढुङ्गा ट्राफिक प्रहरीले स्थानीय प्रहरीसँग समन्वय गरी झ्याप्ले खोला जाम खुलाउन प्रयास गरिरहेका छन् । उनले भने, ‘चाडवाड त्यसमाथि सडक निर्माण कार्य भइरहेको छ, यसले पनि केही समयका लागि जाम बढाएको हो ।’

दैनिक १० हजार यात्रु बाहिरिन्छन्

काठमाडौं उपत्यकाबाट नागढुङ्गा नाका भएर दैनिक १० हजार भन्दा बढी यात्रु बाहिरिने गरेका छन् । नागढुङ्गा नाकाबाट मात्र यतिको यात्रु बाहिरिएको ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।

१७ गते विहान चारदेखि साँझ नौ बजेसम्म नागढुङ्गा, भक्तपुरको साँगा जगाते, फर्पिङ र मुड्खुबाट १० हजार नौ सय दुई वटा सवारी साधन उपत्यकाबाट बाहिरिएका छन् । 

त्यस्तै १० हजार चारसय ९५ सवारी साधन भित्रिएका छन् । दशैँ र तिहारका लागि सवारी साधनमा समेत थप गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?