काठमाडौं । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यकाभित्र ट्रिपर सञ्चालनको समयावधि पुनः घटाइएको छ । बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म ट्रिपर सञ्चालन गर्न दिने निर्णय छोट्याइएको हो ।
अब साउन ४ गतेकै निर्णयअनुसार बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिपरहरु सञ्चालन हुने ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
यसअघि गत साउन १ गते ट्रिपरले ट्राफिक जाम र असुरक्षा बढाएको भन्दै काठमाडौंभित्र रिङरोड, रिङरोड भित्र र कोटेश्वरबाट जडिबुटीसम्मको सडक खण्डमा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र ट्रिपर सञ्चालन गर्न दिने निर्णय जिल्ला प्रशासन कार्यालय, काठमाडौंले गरेको थियो ।
तर, निर्माण सामग्रीको ढुवानीमा अवरोध भएको निष्कर्ष निकाल्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा बुधबार बसेको जिल्ला सुरक्षा समन्वय समितिको बैठकले उक्त निर्णय परिमार्जन गर्दै १ घण्टा बढाउने निर्णय गरेको थियो ।
सो निर्णय गरेकै दिन सूर्यविनायकमा ट्रिपरको ठक्करबाट दुई जना गम्भीर घाइते भएपछि साविककै समयअनुसार सञ्चालन गर्न दिने निर्णय गरिएको हो ।
बिहीबार ट्राफिक प्रहरी महाशाखाले सूचना जारी गर्दै बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिपर सञ्चालन गर्न अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया