अख्तियार प्रमुखलाई सांसदको प्रश्नै प्रश्न

काठमाडौं-प्रतिनिधिसभाअन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यशैलीबारे सांसदहरूले आलोचना गरेका छन् ।

अख्तियारले विकास निर्माणदेखि कर्मचारीतन्त्रसम्ममा हात हाली रोकेर राख्ने काम गरेको भन्दै सांसदहरूले अख्तियारले आफूलाई सुधार गर्ने कार्ययोजना पेस गर्न माग गरेका छन् ।

भ्रष्टाचारीलाई कारबाही गर्ने अधिकार पाएको संवैधानिक आयोगले साना कर्मचारीविरुद्ध ‘स्ट्रिङ अप्रेसन’ सहितको कारबाही चलाउने तर ठूला भ्रष्टाचारमा अनुसन्धान नहुने गरेको भन्दै सांसदले आलोचना गरेका हुन् ।
 बुधबारको समिति बैठकमा दुई रुपैयाँदेखि १ हजारसम्म खाने साना माछा दैनिक पक्राउ पर्ने तर करोडमा भ्रष्टाचार गर्नेप्रति कुनै काम गर्न नसकेको भन्दै सांसदले अख्तियार प्रमुख नवीन घिमिरेलाई प्रश्न गरे । ‘दैनिक रूपमा हजार रुपैयाँ घूस खाएको निहुँमा खरदार र सुब्बा पक्राउ परेको सुनिन्छ तर ठूला माछा किन समाइँदैन,’ सांसद अमरेशकुमार सिंहले सोधे, ‘राजनीतिक तहका मानिस र ठूला मानिस समात्नुको पछाडि कसको दबाब रहेको छ ?’ उनले नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, प्रहरीको सरुवा, स्थानीय निकायमा व्यापक भ्रष्टाचार बढेको बताउँदै त्यसमा अख्तियारले के गरेको भन्दै प्रश्न उठाए ।

‘भ्रष्टाचारको अनुसन्धान गर्ने जस्तो संवेदनशील कार्यमा समेत मुख्य दलको छायामा अख्तियार परेको सुनिन्छ, के राजनीतिक दबाबमा परेको हो अख्तियार ?’ सांसद सिंहले प्रश्न गरे, ‘वर्षमा अर्बाैंको भ्रष्टाचार भएका छन् तर एक वर्षमा ४० करोड मात्र दाबीसहित मुद्दा दायर भएको अख्तियारको रेकर्डमा देखियो, किन यस्तो हुन्छ ? यति मात्र हो र † खर्बाैंको भ्रष्टाचार अख्तियारले नदेखेको हो ?’ राजधानी दैनिकमा  खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?