भक्तपुर तनावग्रस्त, १५ सेल अश्रुग्यास प्रहार

भक्तपुर- भक्तपुर सूर्यविनायकस्थित पाण्डु बजारमा आज साँझ टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्युहुनेमा काभ्रेपलाञ्चोक नमोबुद्ध डराउने पोखरीका २५ वर्षीय रामकृष्ण श्रेष्ठ रहेको छ । काभ्रेपलाञ्चोकबाट काठमाडौँतर्फ जाँदै गरेको बा४ख ३६५० नंको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा८८प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरी परिसर भक्तपुरका अनुसार साँगाबाट ६ बजे छुटेर तीव्र गतिमा आएको टिपरले मोटरसाइकललाई ठक्कर दिएर टिपरका चालक फरार भएको हो । ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोसित भीडले टिपरमा आगो लगाइदिएर ध्वस्त बनाइदिएका छन् । डेढ घण्टासम्म पनि आगो नियन्त्रणमा आएको छैन ।

आगो नियन्त्रणका लागि आएका प्रहरीले भीड हटाउन खोज्दा आक्रोसित भीडले नाराबाजी गरेपछि प्रहरीले लाठीचार्ज गरेको स्थानीय हरिशरण थापाले बताए । प्रहरीको लाठीचार्जबाट आक्रोसित भीडले ढुङ्गाहानेपछि सूर्यविनायक क्षेत्र राति ८ः३० बजेसम्म तनावग्रस्त बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?