ढुवानीमा बाधा पुगेपछि टिपर चलाउने समय तीन घण्टा थप

काठमाडौं । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौंमा दिउँसो टिपर चलाउन नपाइने नियम आएपछि टिपर सञ्चालकहरूले निर्माण सामग्री ढुवानी गर्न गाह्रो भएको गुनासो गर्दै आएका छन् । सोही गुनासोलाई सम्बोधन गर्दै टिपर चलाउने समयमा हेरफेर गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक सूचना जारी गर्दै काठमाडौं रिङरोड, कोटेश्वर, जडीबुटी लगायतका स्थानमा अबदेखि आजबाट तीन घण्टा बढी टिपर सञ्चालन गर्न दिने जानकारी दिएको हो ।

साउन १ गतेदेखि काठमाडौंका विभिन्न स्थानमा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र टिपर सञ्चालन गर्न अनुमति दिइएको थियो । वुधवार प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले निर्माण सामग्रीको ढुवानीमा बाधा परेको भन्ने मागलाई मध्यनजर गर्दै अब बेलुका ७ बजेबाट बिहान ७ बजेसम्म टिपर सञ्चालन गर्न अनुमति दिएको ट्राफिक महाशाखाले जनाएको छ ।

काठमाडौंमा टिपरका कारण दुर्घटना धेरै हुन थालेपछि प्रहरीले दिउँसोमा टिपर सञ्चालन गर्न नपाइने नियम ल्याएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?