फेरि सामूहिक नेतृत्वमै राजपा नेपाल, अध्यक्षमण्डल विघटन नहुने

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) मा पुनः सामूहिक नेतृत्व हुने भएको छ । राजपा नेपालले विधानमा अध्यक्षमण्डल कायम रहने व्यवस्था पारित गरेको हो । राजपा नेपालका केन्द्रीय सदस्यहरूले अध्यक्षमण्डल विघटन गर्नुपर्ने माग गरे पनि सो पार्टीले सामूहिक नेतृत्वलाई नै जोड दिएको हो ।
पार्टीमा एकले अर्काको नेतृत्व स्वीकार गर्न नसकेपछि अध्यक्षमण्डलको बैठकले सामूहिक नेतृत्वमै अगाडि बढ्ने निष्कर्ष निकालेको हो । तर, पार्टीको यसअघि भएको केन्द्रीय एवं जिल्ला भेलामा नेताहरूले अध्यक्षमण्डल खारेज गर्न माग गरेका थिए । अध्यक्षमण्डलको व्यवस्थाले पार्टीको काम ठीक तरिकाले हुन नसकेको निष्कर्ष केन्द्रीय सदस्य एवं जिल्ला नेतृत्वले निकालेका थिए ।

राजपा नेपाल अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाले पार्टी अध्यक्षमण्डलकै व्यवस्थामा अगाडि बढ्ने बताए । अध्यक्षमण्डलको बैठकले पार्टीमा अझै सामूहिक नेतृत्वको आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।
‘पद र व्यक्तिको नामले केही फरक पर्दैन, मुख्य कुरा भनेको पार्टीको संगठन कसरी निर्माण गरी सशक्त बनाउने भन्नेमा हाम्रो ध्यान रहेको छ,’ झाले भने, ‘रामप्रसाद नाम भएका धेरै मान्छे क्रिश्चियन भइसकेका छन्, त्यसैले नाम र व्यक्तिले केही फरक पर्दैन ।’
विभिन्न ६ पार्टी मिलेर बनेको राजपा नेपालको संगठन निर्माण गर्नका लागि एकल नभई सामूहिक नेतृत्वकै अहिले आवश्यकता रहेको उनले बताए । सामूहिक नेतृत्वले पार्टीको गतिविधि अगाडि बढाउन सहयोग पुग्ने विश्वास झाले व्यक्त गरे ।राजधानी दैनिकमा खबर छापिएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?