हातैले छामेर पासपोर्ट जाँच

 काठमाडौं– अवैध प्रक्रियाबाट नेपाल भित्रिनेका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सजिलो प्रवेशमार्ग बनेको छ । सजिलै अनअराइभल भिसा पाइने र राहदानीमा सामान्य व्यक्तिगत विवरणबाहेकका सूचना पढ्ने प्रविधि नहुँदा देशकै मुख्य विमानस्थल कमजोर बनेको हो । यहाँ रेटिना, डिजिटल औँठाछाप अध्ययन र फोटो खिच्ने प्रविधि छैन ।

भदौ ५ मा नक्कली इजरायली राहदानी लिएर आएका इमेई होसिन लास्कारी र नायदे याराम्दीले सजिलै पर्यटक भिसामा प्रवेश अनुमति पाए । १५ दिन काठमाडौं बसेर यो दम्पती जर्मनीका लागि उड्यो । तर, ट्रान्जिट देश टर्कीको अध्यागमनले राहदानी नक्कली रहेको भन्दै उनीहरूलाई नेपालै फिर्ता पठाइदियो । इजरायली राहदानी बोकेका उनीहरू इरानी नागरिक रहेको खुल्यो ।
त्रिभुवन विमानस्थलमा नक्कली राहदानीमा सक्कली भिसा लगाएर नेपाल पस्ने र केही दिनको ट्रान्जिटपछि युरोप र अमेरिका छिर्ने प्रयास बारम्बार हुँदै आइरहेको छ ।

गत असार ६ गते ५ बालबालिकासहित काठमाडौं उत्रिएका ९ विदेशी इस्ट टिमोरको राहदानी लिएर आएका थिए । ट्राभल हिस्ट्रीमा उनीहरू मलेसिया हुँदै नेपाल आएको देखिन्थ्यो । १५ दिनको अनअराइभल भिसा रहेका उनीहरू असार १८ मा कतार एयरलाइन्समार्फत बोस्निया हर्जगोभिना पुगे । तर तीन दिनपछि उनीहरू काठमाडौंमै फिर्ता भए । इस्ट टिमोरको राहदानी बोकेका उनीहरू अफ्रिकी देश सुडानका रहेछन् । अध्यागमन स्रोतका अनुसार मानव तस्करीको अन्तर्राष्ट्रिय गिरोहले उनीहरूलाई अवैध पासपोर्ट बोकाएर नेपाल पठाएको थियो । नेपालको भिसा र केही दिन बसेको प्रमाण भएपछि राहदानीले वैधता पाउने र त्यसैका आधारमा युरोप छिर्ने उनीहरूको योजना थियो । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?