सोलुखुम्बु । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नवनिर्मित कार्यालय भवनको मंगलबार विहान उद्घाटन गरेका छन् ।
महानिरीक्षक खनाल भवन उद्घाटन गर्न सोमवार नै सोलुखुम्बु गएका थिए ।
सो अवसरमा नेपाल प्रहरी विश्वकै उत्कृष्ट प्रहरी बन्न सक्ने सम्भावना रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले त्यसको लागि प्रहरी कर्मचारीको इमान्दारिता र आचरणमा अझै सुधार आउनु पर्ने बताए ।
प्रहरी संगठनको विभागीय नीति, निर्देशन अनुसार जिम्मेवारी पूरा गर्न निर्देशन दिँदै उनले भने ‘प्रहरी कर्मचारी आफैँ कुनै पनि घटनाको कारक बन्नु हुँदैन ।’प्रहरी कर्मचारीहरु देश र नागरिकको सेवक भएकाले देश र नागरिकको शान्ति सुरक्षाका लागि हरहमेसा प्रतिबद्ध भई निस्वार्थ सेवाभावले काम गर्न समेत उनले निर्देशन दिएका छन् ।
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिपराज रेग्मीले मुलुकको नयाँ संघीय संरचनासँगै उर्लेका अपेक्षा र आकाङ्क्क्षालाई पूरा गर्न शान्ति, समृद्धि र विकासमा जोड दिनुपर्ने उल्लेख गर्दै यसका लागि सुशासनको आवश्यकता माथि पनि जोड दिएका छन् ।
सुशासन कायम गर्ने क्रममा प्रहरी, सरोकारवाला निकाय र जनता ऐक्यबद्ध भएर लाग्नु अपरिहार्य रहेको धारणा उनको थियो । कार्यक्रममा सोलुखुम्बुका जिल्ला न्यायाधीस नारायणप्रसाद सुबेदी, जिल्ला समन्वय समितिका प्रमुख लगायत जनप्रतिनिधिहरुले समेत मन्तव्य व्यक्त गरेका थिए ।
प्रदेश १ का प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले धन्यवाद ज्ञापन गरेका थिए । उक्त भवन ३ करोड ४६ लाख ६९ हजार ४ सय १० रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया