काठमाडौँ । निर्माण व्यवसायी शरदकुमार गौचनको हत्या घटनाका मुख्य योजनाकार समिरमान बस्नेतलाई कडा सुरक्षा सहित म्याग्दीबाट मुस्ताङ लगिएको छ ।
ललितपुरको नख्खुस्थित कारागारबाट सोमवार बिहान उनलाई बुद्ध एयरमार्फत पोखरा पु–याइएको थियो । बस्नेतको निगरानी गर्न कारागारका प्रतिनिधि, प्रहरी र स्थानीय प्रहरी टोली परिचालन गरिएको छ ।
उनलाई प्रहरीकै सवारी साधनमा राखेर कडा सुरक्षाबीच मुस्ताङ ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख महेन्द्र खड्काले बताएका हुन् ।
कारागार व्यवस्थापन विभागले काठमाडौंबाट पोखरा कास्की, कास्कीबाट म्याग्दी हुँदै अड्डासार गर्दै अभियुक्त बस्नेतलाई मुस्ताङ कारागारमा लगिँदै गरेको बताएको छ ।
अभियुक्त बस्नेतले नख्खु कारागारमा गुण्डागर्दी गर्ने, अन्य कैदीलाई धम्की दिने जस्ता हर्कत देखाउन थालेपछि उनलाई कारागार स्थान्तरण गरिएको विभागले जनाएको हो ।
विभागका प्रमुख हरिप्रसाद मैनालीले बस्नेतलाई आजै साँझसम्म मुस्ताङ कारागारमा पु–याउने तयारी भइरहेको बताए । उनलाई हिजै दिउँसो पोखराबाट म्याग्दी पु–याइएको हो ।
आज बिहान म्याग्दीबाट मुस्ताङ लगिएको छ । बस्नेतको साथमा उनकी श्रीमती पनि छन् ।
गत वर्ष असोजमा अभियुक्त बस्नेतको समूहले निर्माण व्यवसायी संघका अध्यक्ष गौचनको गोली प्रहार गरी हत्या गरेका थिए ।
सो घटना भएको करीब पाँच महिनापछि उनी पक्राउ परेका थिए । सोही घटनाका अर्को अभियुक्त मनोज विकको भने प्रहरीको इनकाउण्टरमा मृत्यु भइसकेको छ ।
मुस्ताङ निवासी गौचनको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ९ जना मुलुकका विभिन्न जेलमा सजाय भुक्तान गरिरहेका छन् ।
निर्माण व्यवसायी गौचनको गृह जिल्ला मुस्ताङमा उनको हत्या घटनाका मुख्य योजनाकार बस्नेतलाई पु–याइनु आफैमा रहस्यमय देखिएको छ ।
तर कारागार व्यवस्थापन विभागले उनको सक्रियतालाई कम गर्न विभिन्न हर्कतमा नियन्त्रण ल्याउन मुस्ताङ सारिएको दाबी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया