काठमाडौं । हिंसा र शान्ति शब्दले ठ्याक्कै उल्टो अर्थ राख्छन् । जहाँ शान्ति हुन्छ त्यहाँ हिंसा न्यून हुन्छ भने जहाँ हिंसा हुन्छ त्यहाँ शान्तिको खोजी गरिन्छ ।
हिंसा र शान्ति प्राकृतिक नियमजस्तै भएका छन् । यी दुवै पक्षको अस्तित्व एकअर्कासँग कुनै न कुनै माध्यमबाट जोडिएको पाइन्छ । दुवै गतिशील छन् । समयको बहावसँगै यी दुई पक्ष एकअर्कामा परिणत भइरहन्छन् । शान्तिले कुन बेला हिंसाको रुप लिन्छ र हिंसाबाट कहिले शान्ति बिउँतिन्छ, यसको कुनै टुङ्गो नै हुँदैन ।
विश्वमा रहेका २ सयभन्दा बढी मुलुकमध्ये कुनैमा एक पक्ष (हिंसा) को दबदबा बढी छ भने कुनैमा शान्ति सन्तुलनमा छ ।
‘इन्स्टिच्युट फर इकोनमिक्स एण्ड पिस’ नामक संस्थाले हरेक वर्ष २३ वटा गुणात्मक र मात्रात्मक सूचाङ्कको आधारमा विश्वभरिका मुलुकहरुलाई सुरक्षित (हिंसामुक्त) र असुरक्षित (हिंसायुक्त) गरी दुई भागमा विभाजन गर्दै आएको छ । संस्थाले गरेको अनुसन्धान अनुसार ‘आइसल्यान्ड’ विश्वकै सुरक्षित राष्ट्र हो भने ‘सिरिया’ विश्वकै असुरक्षित राष्ट्र हो ।

‘आइसल्यान्ड’ विगत दश वर्षदेखि विश्वकै सुरक्षित राष्ट्रका रुपमा परिचित छ । आपराधिक क्रियाकलाप, आतंकवादको प्रकोप, सैन्य व्यय आदिजस्ता सूचाङ्कलाई मध्यनजर गरी आइसल्यान्ड अन्य राष्ट्रको तुलनामा सुरक्षित भएको अनुसन्धानकर्ताहरु बताएका छन् । गृहयुद्ध र हिंसात्मक क्रियाकलापका कारण तीन वर्षदेखि विश्वकै असुरक्षित मुलुकको शीर्ष देशमा सिरिया स्थापित भएको छ । सिरियामा अहिले पनि दैनिकजसो हत्या, हिंसा र आतंकका घटना घटिरहेका हुन्छन् ।
कसरी सुरक्षित छ आइसल्याण्ड?
यो राष्ट्र वर्गका आधारमा विभाजित छैन । अझ अर्को कुरा त यहाँ सैनिक छैनन् भने प्रहरीहरुलाई समेत हतियार बोक्ने अनुमति छैन । सर्वसाधारणलाई लामो र झन्झटिलो प्रक्रिया पूरा गरेपछि मात्र हतियार राख्ने अनुमति दिइन्छ ।
यो राष्ट्र समानताको मामिलामा अन्य मुलुकभन्दा निकै उदारवादी छ । महिला राष्ट्रपति निर्वाचित गर्ने विश्वकै पहिलो राष्ट्रका रुपमा समेत चिनिने आइसल्याण्डमा सन् १९८० मा महिला राष्ट्रपति चुनिएको थियो । अर्को कुरा के छ भने, आइसल्याण्ड तेस्रो लिङ्गी प्रधानमन्त्री निर्वाचित गर्ने विश्वकै पहिलो राष्ट्रसमेत हो ।
कुन कुन राष्ट्र असुरक्षितको सूचीमा?
– सिरिया
– अफगानिस्तान
– दक्षिण सुडान
– इराक
– सोमालिया
– येमन
– लिबिया
– कंगो
– सेन्ट्रल एफ्रिकन रिपब्लिक
– रुस
विश्वका १० सुरक्षित राष्ट्र:
– आइसल्यान्ड
– न्यू जिल्यान्ड
– अस्ट्रिया
– पोर्चुगल
– डेनमार्क
– क्यानडा
– चेक् रिपब्लिक
– सिंगापुर
– जापान
– आयरल्यान्ड
अनुसन्धानका अनुसार दक्षिण एसियाका राष्ट्रहरुमा सबैभन्दा सुरक्षित भुटान हो । त्यसै गरी नेपाल विश्वको असुरक्षित मुलुकको सूचीमा ८० औं स्थानमा छ । सुरक्षाको दृष्टिकोणले हेर्दा नेपाललाई छिमेकी देश भारत र चीनको तुलनामा बढी सुरक्षित मानिएको छ । ‘इन्स्टिच्युट फर इकोनमिक्स एण्ड पिस’ ले जारी गरेको प्रतिवेदनअनुसार चीन र भारत क्रमश ५२ र २८ औं स्थानमा पर्छन् ।
विश्वकै शक्तिशाली मानिने अमेरिका पनि सुरक्षाको मामिलामा कमजोर देखिएको छ । अमेरिकालाई असुरक्षित मुलुकहरुको सूचीमा ४३ औं स्थानमा राखिएको छ ।

पृथ्वी नै असुरक्षित बन्दै
हाम्रो साझा घर पृथ्वी दिनप्रतिदिन असुरक्षित र हिंसात्मक बन्दैछ । मानवता, आपसी सम्बन्ध, नैतिकता धमिलिँदै जाँदा विश्वमा आतंक, हत्या, हिंसा आदिजस्ता क्रियाकलापहरुले जरा गाड्दै गएको छ । जसको परिणामस्वरुप विश्वको शान्तिमा ह्रास आइरहेको छ । ‘ग्लोबल पिस इन्डेक्स’को प्रतिवेदनअनुसार विश्वमा शान्ति ०.२७ प्रतिशतले घट्दै गइरहेको छ ।
गृहयुद्ध, राष्ट्रहरुबीच हुने शीतयुद्ध, आणविक हतियारको होडबाजी, आतंकवादी गिरोह आदिको प्रभावले विश्व शान्तिमा ठूलो प्रश्न चिह्न उठाएको मानव अधिकारकर्मीले बताउँदै आएका छन् । सुरक्षाको मामिलामा विश्वका ९२ राष्ट्रहरुको अवस्था नाजुक छ भने ७१ राष्ट्रमा मात्र परिस्थिति अनुकूल देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया