आकाशे पुल कब्जा गरेर फुटपाथ व्यापार, आवतजावतमा समस्या

सयमा इयरफोन, सयमा चार्जर…

हजार ५० को जुत्ता छ सयमा मात्रै । 

यता हेर्नुहोस् त सयमा ३ जोर मोजा

काठमाडौंका धेरै ठाउँका फुटपाथ र आकाशे पुलमा घन्किने आवाज हुन् यी । ओहोरदोहोर गर्ने बटुवालाई सस्तो सामान बेचिरहेको जानकारी गराउन र आज नलगे भोली नपाईने चेतावनी सहितका उखानटुक्का मिसाएर आकर्षित गर्न सामान फिँजाएर बस्ने व्यापारी दिनहुँ यसैगरी कराउने गर्छन् । कतिले त बोल्दा बोल्दा थाक्ने भएकाले यस्ता चटपटे बोली रेकर्ड गराएर समेत बजाउने गरेका छन् । 

ल आयो आयो सस्तो सामान !

विशेषगरी धेरै भीडभाड हुने फुटपाथ, सडकपेटी, आकाशेपुल, सब वे, फुटपाथ व्यापारीका लागि ग्राहक तान्ने महत्वपूर्ण ठाउँ बनेको छ । बटुवा हिँड्ने फुटपाथमा मात्र होइन, बाटो पार गर्न बनाइएका आकाशे पुलमा पनि व्यापारीले अड्डा जमाउने गरेका छन् ।  

पैदल यात्रुको सहजताको लागि निर्माण गरिएको आकाशे पुलमा चाडवाडका बेला झनै हिँडिसक्नु हुँदैन । काठमाडौं उपत्यकाका अधिकांश आकाशे पुल फुटपाथे व्यापारीको कमाउने थलो बनेको छ ।
सडकमा फिजाएर रहेका सामानका कारण बाटोमा हिँड्दा अल्झिएर लड्ने गरेको सर्वसाधारणले गुनासो गरेका छन् । 

‘बेलुका र बिहानको समयमा फुटपाथ र आकाशे पुल प्रयोग गर्न सकिँदैन’, त्रि–चन्द्र कलेजका विधार्थी मनोज सापकोटाले भने ।

रामेछाप घर भई हाल बाघबजार बस्दै आएका २० वर्षीय सापकोटाले भने, “हिँड्नको लागि सानो ठाँउ हुन्छ, बेलुकाको समयमा रत्नपार्कको आकाशे पुलमा व्यापारीहरुको भीडले उक्लनै सकिँदैन् ।”
‘आकाशे पुलमा हिँडि साध्य हुँदैन् आकाशे पुलको तलबाट बाटो काट्नु पर्ने बाध्यता छ ।’ उनले दुखेसो गरे ।  

मनोज सापकोटा, कुसुम श्रेष्ठ र अजित क्षेत्री त राजधानीको भीडका प्रतिनिधि पात्रमात्र हुन् । हजारौं संख्याले प्रयोग गर्ने आकाशे पुलमा र फुटपाथमा हिँड्ने बाटोसमेत छेकेर वारि देखि पारि सम्म समानहरु फिजाएर राखिदिँदा हरेक पैदल यात्रुलाई समस्या हुने गरेको छ । 

हरेक दिन आवतजावत गर्न समस्या भएपनि सरकारी निकायबाट कुनै पहल नभएको सर्वसाधारणको गुनासो छ । 

कुसुम श्रेष्ठ भन्छिन्, “सरकारले कडा नियम बनाए त हुने हो ।” 

आकाशे पुल र फुटपाथका व्यापारीलाई व्यापारका लागि एउटा निश्चित ठाँउको व्यवस्थापन गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् । 

यसो भन्छन् व्यापारी
त्यसो त आकाशे पुलका व्यापारीका कुरा पनि कम मार्मिक छैन । ‘के गर्ने हजुर जीवन धान्नै प-यो । हामी त कि आकाशे पुलमा व्यापार गर, कि मरको अवस्थामा छौँ । हामीलाई थाहा छ आकाशे पुल व्यापारका लागि होइन तर हामी बाध्य छौँ ।’ जमलको आकाशे पुलमा व्यापार गर्दै आएकी लक्ष्मी खत्रीले भनिन् । 


काभ्रे घर भइ हाल रत्नपार्क बस्दै आएकी लक्ष्मी खत्री भने आफ्नो दैनिकी चलाउनको लागि आकाशे पुलमा व्यापार गर्दै आएको बताउँछिन् । 

दुई छोरी र बुढासँग बसेकी खत्री भन्छिन्, ‘जीवन चलाउन गाह्रो छ  । छोरीहरु पढाउनु परि हाल्यो ।’ 

महानगरपालिकाले दुख दिने उनले सुनाइन् । बस्न नदिए पछि काठमाडौंमा बस्न सक्ने अवस्था नरहेको उनले बताइन् । आकाशे पुलमा र सडकको फुटपाथ व्यापार गर्न निषेध गरेको व्यापारीलाई थाहा हँुदा पनि परिवार चलाउनको लागि सरकारको नियम उल्लङ्घन गर्नु परेको बताए ।

महानगरपालिकाको प्रयास
चौबीसै घण्टा प्रहरी परिचालन गरेर भएपनि यो आर्थिक वर्ष भित्र फुटपाथमा रहेका व्यापारीहरुलाई पुरा निषेध गर्ने योजना रहेको काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले लोकपथलाई जानकारी दिए । धेरै पटकको नियन्त्रणको प्रयास असफल भएको उनी बताउँछन् । 

‘व्यापारीलाई चेतावनी दिएर छोड्यो, फेरि शुरु गरिहाल्छन् । अहिले त हामीले ठेलागाडा र सामानहरु सिज गर्ने गरेका छौँ । ’ आचार्यले भने । 

पहिलेको भन्दा फुटपाथमा व्यापार कम भएको भए पनि सन्तोषजनक उपलब्धि हाँसिल गर्न नसकिएको उनको भनाइ छ । 

दिउँसोको समयमा फुटपाथमा हुने व्यापार नियन्त्रणमा आएको भए पनि बेलुकाको समयमा व्यापार नियन्त्रण गर्न कठिन भएको उनले बताए । 

आचार्यले भने, ‘फुटपाथमा पहिलो प्राथमिकता पैदल यात्रुलाई नै हो । झन् आकाशे पुल दुर्घटना नियन्त्रणको लागि बनाइएको हो । सर्वसाधरणको सहजताको निम्ति बनाइएको ठाँउ दुरुपयोग भएकोमा हामी पनि निराश छौँ । नयाँ कानून र नीतिका साथ हामी अगाडि बढिरहेका छौँ । प्रभावकारी हुन्छ, हामी ढुक्क छौँ । ’

ठाउँठाउँमा अनुगमन टोली परिचालन गरेर भएपनि सक्दो छिटो फुटपाथ व्यापारलाई शून्य प्रतिशतमा ल्याउने काठमाडौं महानगरपालिकाको योजना छ । एक महिनाको सूचनामूलक अभियान पछि अहिले महानगरपालिकाले सिज गरेको सामानहरुको लिलामीको तयारी गरिरहेको छ । तत्काल कुहिने सामानहरु आफैँ बेच्ने र उठेको रकम सरकारी कोषमा जाने गरेको छ । 

फुटपाथ व्यापार राख्न नदिने महानगरपालिकाको घोषणा नमान्दै फुटपाथ व्यापारीले सर्वसाधारणलाई दुःख दिइरहेका छन् ।


कहिलेकाहीँ फिँजारिएका सामानमा अल्झेर लडिने मात्र होइन ती व्यापारीको हप्कीदप्की समेत खप्नुपर्ने हुन्छ । यो सरासर गलत हो । यसतर्फ सम्ब्न्धित निकायको ध्यान जान आवश्यक छ । 

तस्वीर: सरोज घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?