नेकपा विवादको अन्तर्य

काठमाडौ : सत्तारूढ नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकार विरूद्ध संसदमा दिएको अभिव्यक्ति र स्थायी समितिको बैठक बोलाएर दिएको राजनीतिक चालले यतिखेर नेपाली राजनीति तरंगित भएको छ ।

सत्तापक्षमा देखिएको यो विवादले प्रतिपक्षी खेमामा उत्साह थपिनु स्वाभाविक हो ।

जनताको बोली र सञ्चार माध्यमको प्रस्तुतिले घेरिदै गएको सरकार परिवर्तनको हल्ला पनि चल्न थालेको छ ।

नेकपाका दुबै अध्यक्ष देश बाहिर भएको बेला पूर्व प्रधानमन्त्री नेपालले यो राजनीतिक पहलकदमी लिएर राजनीतिलाई तरगिंत बनाएका हुन् ।

नेपाललाई पार्टी नेता बामदेव गौतमले पनि सघाएको देखिएको छ । स्थायी समितिको बैठक बोलाउनु नेपालको कदम अनुचित नभएको गौतमले अभिव्यक्ति  सार्वजनिक गरेका हुन् ।

‘बडे मिया तो बडे मियाँ छोटे मिया सुभान अल्लाह’कै लयमा नेकपाका तला तहका नेताहरूमा बाझबाझ पनि शुरू भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र माधव नेपाल नजिक मानिएका स्थायी समिति सदस्य योगेश भट्टराईबीच समाजिक सञ्जालमा यो बाझाबाझ देखिएपछि पार्टी भित्रको असन्तुष्टि छताछुल्ल भएको एक थरीको बुझाइ रहेको छ ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएका बेला र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिंगापुर पत्नी सीता दाहालको उपचारका लागि गएका बेला नेपालले यस्तो राजनीतिक चाल चलेपछि राजनीतिक तरंग आउनु अस्वाभाविक भने होइन् ।

पार्टी नेताहरू मध्येका एमाले पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल ओली प्रचण्ड मात्रै होइन माधव नेपाल विरूद्ध पनि अभिव्यक्त सार्वजनिक गरेका छन् ।

नेतै नेता र प्रधानमन्त्री प्रधानमन्त्री भएको पार्टीमा वरियता मिलाउनु आफैमा सहज कुरो होइन् । त्यो पनि सबै नेता राजनीतिक प्रोफाइल हाइ नै खोज्ने भएपछि समस्या असहज हुनु स्वाभिवक हो ।

पूर्व अध्यक्ष खनालले आफू भन्दा माथि नेपाललाई पार्टीमा हैसियत दिएकाले क्रुद्ध हुँदै अभिव्यक्ति सार्वजनिक गरेका छन् ।

नेपालले म भन्दा माथिको वरियता कसरी स्वीकार गरेको प्रश्न खनालको छ ।

गौतम ओलीसँग अहिले रूष्ट छन् । उनलाई संसदमा ल्याउन गरिएको पहललाई प्रधानमन्त्रीले तुहाइ दिएका छन् ।

पार्टीका एक सांसदलाई राजीनामा गराई गौतमलाई संसदमा छिराउने योजना ओलीले तुहाई दिएकोमा आशंका नभएको धेरैको बुझाई छ ।

पार्टीका ठूला नेतालाई संसदमा ल्याउने योजना तुहाउने खेलमा प्रचण्ड लागेको हुन नसक्ने देखिन्छ । यसअघि पहिलो संविधानसभाको निर्वाचनमा पराजित भएका नेपाललाई प्रचण्डले नै संसदमा छिराएका थिए ।

नेकपामा देखिएको विवादलाई कतिपयले सरकार परिवर्तनको पूर्वाभ्यास भनिरहेका छन् ।

यसअघि प्रचण्डले काम नगर्ने मन्त्रीलाई हटाइने अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्तिलाई प्रधानमन्त्री ओलीले अहिले सरकार नफेरिने भनेर अर्थहीन बनाइदिएका थिए । 

पार्टीका नेताहरूबीचका असन्तुष्टि छताछुल्ल भएपछि यसको समाधान सरकार परिवर्तन सही विकल्प रहेको छ । पार्टी फुटिहाल्ने सम्मका चर्चा नचलेको भने होइन् ।

सडकमा अहिले नेपाली कांग्रेसले ठाउँ बनाइरहेको छ । आन्दोलन उठाउन नसकेको मात्रै हो । कांग्रेसले आन्दोलन उठाउन सक्यो भने सरकारलाई समस्या हुनेछ । 

कांग्रेसले उठाउन खोजेका एजेन्डाहरूलाई नेकपाका नेताहरूले शिथिल पार्ने काम गर्दै आएका छन् ।

डा. गोविन्द केसीको आन्दोलन चर्किएको बेला नारायणकाजी श्रेष्ठ जस्ता नेताले सरकारको विरोधमा अभिव्यक्ति दिए ।

प्रवक्ता पदबाट राजीनामा नै बालुवाटारमा प्रधानमन्त्रीलाई बुझाए तर त्यो राजीनामा स्वीकृत भएन् ।

अहिले निर्मला हत्या प्रकरणले उचाई लिइरहेको बेला पार्टीका नेताहरूले दिएको अभिव्यक्तिबाट कांग्रेसले उठाउन खोजेको एजेन्डा फेरि एक पटक तुहिन पुगेको छ ।

पार्टी फुटला भन्ने सोच्नु सही राजनीतिक सोच भन्न सकिदैन् । यो दुई पार्टी बीचको एकता अचानक भइहाल्नुमा आन्तरिक कारणहरू भन्दा पनि बाह्यकरणहरूको धक्का महत्वपूर्ण देखिन्छ ।

नेपालको सन्दर्भमा बाह्यकरणहरू समाधन नभए पार्टी फुटला भनेर सोच्नु सही हुँदैन् ।

नेपालका लागि बाह्यकरणहरूमा अहिले भारत र चीन प्रमुख विषय हुन् । चीनमा राजनीतिक नेतृत्व र नीतिको सवालमा राष्ट्रपति सी जिनपिनले दरो खुट्टो टेकिसकेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको राजनीतिक शक्तिले राजनीतिक टेको बलियो पानुपर्ने आवश्यकता छ । तर यसका लागि मोदीलाई चुनावमा जानुपर्ने हुन्छ ।

भारतको चुनावमा मोदीले सरकार बनाउने भए एक थरी राजनीतिक कारणहरू प्रमुख भएर आउँछन् भने गैर मोदी सरकार बन्ने भए अर्को थरी राजनीतिक कारणहरू बन्ने छन् ।

त्यसैले फुटका लागि त्यो निर्वाचन पर्खनुपर्ने आवश्यकता छ ।

तर सतहमा देखिएको विवाद मिलाउन सरकार परिवर्तन सहज बाटो पार्टीका नेताहरूका लागि उपलब्ध छ । 

पार्टीले अहिले आफै बोक्सी आफै झाक्रीको नीति लिएको छ । यो नीतिबाट पार्टीलाई सदन र सडक दुबै कब्जा गर्ने ‘स्पेस’ उपलब्ध भइरहनेछ ।

किनभने दुईटा पार्टी मिलेर सरकार चलाउन जुन सहजता प्राप्त गरेका छन् त्यो गुमाउन पार्टीका नेताहरू तयार हुँदैनन् ।
  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?