काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको सहकार्यमा सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ ।
शुक्रवार उद्योग मन्त्रालयमा मेसिन बनाउन आवश्यक पर्ने प्रविधिको अध्ययन,अनुसन्धान र विकासको लागि काम गर्न लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र र आविष्कार केन्द्र बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारीमा प्रवद्र्धन केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद भुसाल र आविष्कार केन्द्रको तर्फबाट अध्यक्ष महावीर पुनले हस्ताक्षर गरेका हुन् । आविष्कार केन्द्रले आगामी वैशाखसम्म सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन निर्माण सक्नेगरी सरकारले सघाउने सम्झौता भएको छ । सम्झौता हस्तारक्षर कार्यक्रमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसमेत उपस्थित रहेका थिए ।
हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री बडूले आविष्कार केन्द्रसँगको सम्झौताले सरकारको राष्ट्रिय नीतिलाई सहयोग पुग्ने बताए । उनले नेपालको राष्ट्रिय उत्पादनलाई अभिवृद्धि गरी उत्पादनको उपभोगमा समेत अभिवृद्धि गर्ने राष्ट्रिय नीति रहेको बताइ । मन्त्री बडूले उत्पादन गर्ने कुरा स्थानीय तहबाट नै शुरु गर्दा स्थानीय स्तरमा नै रोजगारी सिर्जना हुने विश्वास व्यक्त गरे । उनले उत्पादन बढाउने उद्योगहरु स्थापना गर्दा स्थानीय स्तरमा रोजगारी सिर्जना भएर रोजगारीको क्षेत्रमा ठूलो रुपान्तरण हुने बताए । मन्त्री बडूले नेपालको स्थानीय स्तरमा नै उत्पादन बढाउनको लागि सरकारले साना साना उद्योगको योजनाहरु अगाडि बढाएको दाबी गरे । उनले सात वटै प्रदेशमा बिजनेस इकोभेसन सेन्टर खोल्ने कल्पना गरेका भन्दै त्यसले उद्यम र उद्यमीहरुको सख्या बढाउने बताए । उनले सरकार उत्पादन क्षेत्रमा काम गरिरहेका निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढने बताए ।
मन्त्री बडूले उत्पादन क्षेत्रमा लागेका निजी क्षेत्रसँगको सहकार्यले मात्रै सरकारको राष्ट्रिय उद्देश्य पूरा गर्न सहयोग पुग्ने बताए । उनले गाउँघरमा रोजगारीको माध्यम साना घरेलु उद्योगहरु भएको भन्दै साना उद्योगको सरकारले प्रवद्र्धन गर्नसके गाउँघरको आवश्यकता पूरा हुने र रोजगारी सिर्जना हुनेपनि बताए ।
उनले भने,‘ नेपालको गाउँघरमा ठूलो रोजगारीको माध्यम भनेका साना घरेलु उद्योगहरु हुन् । यस्ता उद्योगको प्रवद्र्धन गर्न सक्यौं भने हाम्रो गाउँघरको आवश्यकता पूरा र रोजगारी सिर्जना हुन्छ । राष्ट्रिय आविस्कार केन्द्रले यो भन्दा राम्रो काम गर्नु भएको छ । मुलुकको निम्ति आवश्यकता कहाँ त्यसका लागि के आविस्कार गर्नुपर्छ । मुलुकको तत्कालको आवश्यकता के हो त्यसलाई सानो स्तरबाट कसरी सकिन्छ त्यसको खोजि केन्द्रले गरेको छ । कृषि प्रयोजनका लागि प्रयोग हुने कृषि उत्पादनलाई सहज रुपमा छिटो छरितो बनाउनको लागि मेसिन तयार गर्नुभएको र त्यसको स्थानीय किसानहरुको प्रयोग हुन थालेका छन् । यो महत्वपूर्ण कुरा छ । अहिले सरकारको उद्देश्य नेपालको राष्ट्रिय उत्पादनलाई अभिवृद्धि गर्ने र उत्पादनको उपभोगमा पनि अभिवृद्धि गर्ने सरकारको लक्ष्य छ । त्यसरी उत्पादन गर्ने कुरा स्थानीय तहबाट नै शुरु गर्नुपर्छ । त्यसरी शुरु गर्दा स्थानीय तहमा रोजरारी सिर्जना हुन्छ । स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने कुराले ठूलो रुपान्तरण हुँदैछ । सरकारले स्टार्टअप उद्यमको कल्पना गरेका छौं । नेपालको स्थानीय स्तरमा नै उत्पादन बढाउनको लागि सरकारले साना साना उद्योगको योजनाहरु अगाडि बढाएको छ । सात वटै प्रदेशमा बिजनेस इकोभेसन सेन्टर खोल्ने कल्पना छ । त्यसबाट उद्यम र उद्यमीहरुको संख्या बढाउने हो । त्यसको लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढेको छौं । उत्पादन क्षेत्रमा लागेका निजी क्षेत्रसँगको सहकार्यले राष्ट्रिय उदेश्य पूरा गर्न सहयोग पुग्छ ।’
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले उद्योग र उद्यमी नबढाएसम्म देशको अर्थतन्त्र नबढ्ने बताए । उनले देशको अर्थतन्त्र बढ्न उद्यमीहरुले बढाएर उद्योगहरु सञ्चालन गर्न आवश्यक रहेको बताए । पुनले राष्ट्रिय आविस्कार केन्द्रको मुख्य उद्देश्य पनि उद्यमीहरु बढाउने भएको बताए । उनले लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रसँग भएको सम्झौताले अनुसार ४० लाख रुपैयाँको सिन्के धुप र दाँत कोट्याउने सिन्का बनाउने मेसिन बनाउने योजना रहेको बताए । उनले सन्केधुप, दाँत कोट्याउने सिन्का बनाउने मेसिन, झाडु, बाँसको मुडा बनाउनेलगायत मेशिन बनाउन खर्च गरिने बताए । उनले सम्झौता अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म सबै काम सक्ने बताए ।
उनले भने,‘ नेपालमा उद्योग उद्यमी नबढाएसम्म देशको अर्थतन्त्र बढ्दैन । कुनैपनि देशको अर्थतन्त्र बढाउने भनेको उद्यमीहरुको उद्योगहरु सञ्चालन गरे मात्रै मुलुकको अर्थतन्त्र बढ्ने हो । राष्ट्रिय आविस्कार केन्द्रको मुख्य उद्देश्य पनि उद्यमीहरु बढाउने हो । लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रसँग भएको सम्झौताले अनुसार ४० लाख रुपैयाँको सिन्के धुप बनाउने मिसेन बनाउने छौं । बजारमा दाँत कोट्याउने सिन्का पनि चीनबाट आउने भयो । धेरै नेपालीले टुथपीक बनाउने मेसिन बनाउन माग आएको छ । त्यस्तै किसानहरुको माग धेरै भएको पहाडमा कोदो कुट्ने मेसिन बनाउने योजना रहेको छ । त्यस्तै बासबाट उत्पादन गर्न सकिने सबै प्रकारका सामग्री बनाउने मेसिन बनाउने योजना रहेको छ । सम्झौता भए अनुसार केन्द्रले चालु आर्थिक वर्ष भित्र सक्नेछ ।’
समझदारीअनुसार आविष्कार केन्द्रलाई अनुदानस्वरुप ४० लाख रुपैयाँ यो आर्थिक वर्षका लागि प्राप्त हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया