काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिका सदस्यहरूले आर्थिक प्रलोभनमा सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज लगाएको आरोप लगाएका छन् ।
सोमबारको समिति बैठकमा उनीहरूले यो बन्देजमा ठूलो घोटाला भएको जनाउँदै तत्काल छानबिनको माग गरेका छन् । वार्षिक एक लाख मेट्रिक टन मात्रै आयात गर्न पाउने गरी सरकारले परिमाणात्मक बन्देज लगाएको छ ।
‘सरकारले चिनी आयातको भन्सार बढाएर ३० प्रतिशत पुर्याउँदा पनि किसानले उखुको भुक्तानी पाएनन् । न त सरकारले अनुगमन नै गर्यो,’ पूर्वआपूर्तिमन्त्री समेत रहेका नेकपाका नेता लेखराज भट्टले भने, ‘चिनीमा ठूलो आर्थिक चलखेलकै कारण आयात रोकिएको छ ।’
आयात बन्देज लगाउँदा १ अर्ब ६९ करोड रुपैयाँको चलखेल भएको सुन्नमा आएको उनले बताए । ‘चिनी उद्योगहरू बोर्डरमा छन् । पारिबाट ल्याएर नेपाली उत्पादनको छाप लगाएर बिक्री हुन्छ । मन्त्रालयको ध्यान किन पुग्दैन ?’ उनले भने, ‘ठूलो चलखेल छ । लेखा समितिले छानबिन गर्नुपर्छ ।’ लेखा समितिका पूर्वसभापति हृदयेश त्रिपाठीले उद्योगीले सरकारलाई ‘चुना’ लगाए पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सहेर बसेको आरोप लगाए । ‘किसानलाई वर्षौंदेखि चुना लगाएका थिए । लाचार देखेर यस वर्ष सरकारलाई पनि चुना लगाए,’ उनले भने, ‘चिनीको एकाधिकार एकैठाउँमा सीमित गराए ।’ कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया