काठमाडौं – सार्वजनिक यातयातमा यात्रा गर्दा चानचुन पैसा छैन भन्दै लाग्ने भाडाभन्दा एक दुई रुपैया वा पाँच रुपैयाँसम्म फिर्ता नदिने गरेको अनुभव सार्वजनिक सवारीमा यात्रा गर्ने सबैसँग छ ।
तर अब यातायात विभागले तोकेभन्दा एक रुपैयाँ मात्र बढी भाडा लिए पनि पाँच हजार रुपैयाँ कारवाही गरिने जनाएको छ ।
सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले सबैसँग आह्वान गरेको छ ।
सरकारले तोकेको भाडादर सार्वजनिक सवारी साधनले लागू गराउन नखोजेको र दिनानुदिन ठगि बढेको भन्दै व्यापक जनगुनासो बढेपछी विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको थियो ।
अब तोकिएको भाडादर भन्दा बढी भाडा लिने सार्वजनिक सवारी र तिनका चालक कारवाहीको भागिदार बन्नुपर्नेछ ।
विभागले सार्वजनिक यातायातमा परिचालकले टिकट नदिएको गुनासो पनि बढेको भन्दै सवारी नंम्बर सहित विभागको फ्याक्स नं सहित ४४७४९२२, फोन नं ४४७९६९० मा उजुरी गर्न सकिने बताएको छ ।
यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकार कक्षको टोल फ्रि नंम्बर ११११ फोन सम्पर्क र सन्देश पठाएर पनि उजुरी गर्न सकिनेछ । ७७ वटै जिल्ला प्रशासन कार्यालय, नजिकको प्रहरी कार्यालय वा ट्राफिक प्रहरी कार्यालयमा समेत उजुरी गर्न सकिने विभागले जनाएको छ । प्रहरीको टोल फ्रि नं १०१ र १०३ मा पनि बढी भाडा लिएको, दशैँमा अग्रिम टिकट बुकिङमा कालोबजारी, बढी भाडा लिएको,विद्यार्थी, वृद्धवृद्धा, अपाङ्ग लगायतको सहुलियत परिचालकले नदिए आदि गुनासाको उजुरी मौखिक वा लिखित रुपमा गर्न सकिने जनाइएको छ । यसैगरी नजिकको यातायात व्यवस्था कार्यालयमा यससम्बन्धी उजुरी गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया