काठमाडौं– महानगरीय प्रहरी वृत्त गौशालाले आइतबार मालपोत कार्यालय, चाबहिलका प्रमुख (उपसचिव) कमलप्रसाद तिम्सिनासहित ४ कर्मचारीलाई पक्राउ गरेको छ । उनीहरूमाथि बूढानीलकण्ठ नगरपालिका–५ का चन्दनकृष्ण कायस्थको जग्गा किर्ते गरी अर्कै व्यक्तिका नाममा रजिस्ट्रेसन पास गरेको अभियोग छ ।
पक्राउ पर्नेमा तिम्सिनासहित नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठ, कार्यालय सहयोगी रमेश श्रेष्ठ र मुकुन्द धिताल छन् । प्रहरीले उक्त प्रकरणमा यसअघि मालपोत अधिकृत खगेन्द्रप्रसाद अर्याल, नायब सुब्बा रञ्जनकुमार खरेल, जमुनाकुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिना तथा बिचौलियाहरू ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा, प्रदीपप्रसाद गौतम, श्रीकृष्ण बडुवाल र सानुभाइलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरूसितको बयानबाट तिम्सिनाको समेत संलग्नता खुलेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । मालपोतका प्रमुख र कर्मचारीको मिलेमतोमा गौतमको नाममा जग्गाधनी कायस्थको नक्कली वारेसनामा बनाई ४० आना जग्गा ध्रुवप्रसाद भट्टराई र श्रीकृष्ण बडुवालको नाममा रजिस्ट्रेसन पास गरिएको थियो । पक्राउ परेकाहरूलाई हिरासतमा राखी लिखतसम्बन्धी कसुर र संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको छ । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया