एजेन्सी: प्रधानमन्त्री केपी ओलीले बिमस्टेकको क्रममा गरेको केटौले कुटनीतिक व्यवहारबाट सार्क सक्रिय बनाउन सक्ने क्षमता तत्काल गुमाएको सम्बद्ध क्षेत्रका विज्ञहरूको बुझाइ रहेको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क सक्रिय बनेको नेपालले देख्न चाहेको बताए ।
भारत र पाकिस्तानबीचको आपसी द्वन्द्वका कारण आठ देशहरूको सो क्षेत्रीय सहयोग संगठन केही वर्ष यता निष्क्रिय भइरहेको बेला प्रधानमन्त्री ओलीले राष्ट्रसघंको महासभा जस्तो अन्तराष्ट्रिय मञ्चबाट सो आग्रह गरेका हुन् ।
नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्कको अध्यक्ष राष्ट्रको हैसियतमा सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको बैठक पनि बिहीबारै आयोजना गरे ।
सन् २०१६ का लागि इस्लामावादमा हुने भनी निर्धारित सार्कको शिखर सम्मेलन भारत र पाकिस्तानबीचको दुईपक्षीय तनावका कारण अनिश्चितकालका लागि स्थगित भएको छ ।
भारतले पाकिस्तानमाथि भारतमा आतंकवादी गतिविधि गराएको आरोप लगाउँदै आएकाले यी दुई देशबीचको सम्बन्ध बिग्रिदै आएको हो ।
सन् २०१४ मा काठमाडौमा सार्क शिखर सम्मेलनको आयोजना नेपालले गरेको थियो । त्यसपछि निर्धारित इश्लामाबाद शिखरसम्मेलन स्थगनमा परेको हो ।
सन् २०१६ को नोभेम्बरमा सम्मेलन गर्ने भनेर मिति घोषणा गरिएको थियो । तर भारतको एक सैनिक ब्यारेकमा भएका हमलामा पाकिस्तानको हात रहेको आरोप भारतले लगाउँदै मिति तय भइसकेको सम्मेलन बहिष्कार गर्ने निर्णय ग-यो ।
भारतले बहिष्कार गरेपछि अफगानिस्तान, बांग्लादेश र भूटानले पनि सार्क शिखर सम्मेलनमा जान नसक्ने बताएयता यो सम्मेलन अनिश्चित हुन पुगेको हो ।
प्रधानमन्त्री ओलीले सत्ता सम्हाले लगत्तै पाकिस्तानका तत्कालीन प्रधानमन्त्री शाहिद खकान अब्बासीले नेपालको भ्रमण गरे ।
अब्बासीले सार्कलाई सक्रिय बनाउन सहयोग गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।
हालै भएको आम चुनावबाट इमरान खान पाकिस्तानको प्रधानमन्त्री चुनिएका हुन् । उनले भारतसँगको सम्बन्ध राम्रो बनाउन पहल गर्ने प्रतिक्रिया दिए ।
दुई देशबीच सम्बन्ध सुधार हुने अपेक्षा गरिएपनि महासभाको अवसर छोपेर दुई देशका विदेशमन्त्रीबीचमा न्यूयोर्कमा भेटवार्ता गर्नुपर्ने प्रस्ताव भारतले रद्द ग-यो ।
भारतले आफ्ना सुरक्षाकर्मीको हत्यामा पाकिस्तान भित्रका समूह संलग्न भएको र कश्मिरी शहिद दिवस शीर्षक दिएर पाकिस्तानले जारी गरेका हुलाक टिकटहरूले ‘आतंकवाद र आतंकवादी गतिविधिलाई प्रवर्धन गरेको’ आरोप लगाएको छ ।
परराष्ट्रमन्त्री ज्ञावालीले आयोजना गरेको बैठकमा पाकिस्तानी विदेशमन्त्री शाह मेहमुद कुरेसीले सदस्य राष्ट्रहरू तयार हुने बित्तिकै जुनसुकै समयमा पनि शिखर सम्मेलन आयोजना गर्न आफ्नो देश तयार रहेको बताएको जनाइएको छ ।
तर सो बैठकको बीचमै भारतीय विदेशमन्त्री सुष्मा स्वराज बाहिरिएको समाचारहरूमा उल्लेख गरिएको छ ।
बिमस्टेकमा भारतले आयोजना गरेको संयुक्त सैनिक अभ्यासबाट नेपालले अन्तिम समयमा देखाएको व्यवहारबाट असन्तुष्ट रहेको छ ।
नेपाली सेनाले महिना दिन अघि देखि संयुक्त सैनिक अभ्यासमा सहभागी हुन गरेको तयारीबार आफूलाई जानकारी नभएको जनाउँदै प्रधानमन्त्री ओलीले दर्शाएको व्यवहारलाई केटौले व्यवहार भएको कतिपय विज्ञहरूको भनाइ छ ।
उनीहरूका अनुसार नेपाललाई बिमस्टेकको संयुक्त सैनिक अभ्यासमा भाग लिन इच्छा नभएको भए पहिले नै जानकारी गराएको भए राम्रो हुन्थ्यो ।
अन्तिमसमयमा आएर गरिएको व्यवहारले भारत असन्तुष्ट रहेकोले त्यस अवस्थामा ओलीले गरेको सार्कसम्बन्धी आग्रह पूरा हुनेमा आंशका रहेको छ ।
नेपालले यो केटौले कुटनीतिको भपाई गर्नुपर्ने बाँकी छ । त्यसपछि मात्र सार्क सक्रिय बनाउने पहल प्रभावकारी हुन सक्ने उनीहरूको बुझाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया