महिला बालबालिका प्रति बढ्दो अपराधका कारण आफू लज्जित भएको छुँ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले महिलामाथि भएको बलात्कार, हत्या र हिंसा  जस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न नसकेकोमा आफू लज्जित हुने अवस्था आएको बताएका छन् ।  

शुक्रबार नेपाल कम्युनिष्ट पार्टीका नेतृहरुसँगको भेटमा गृहमन्त्री थापाले महिला र बालबालिकामाथि बढ्दो अपराध नियन्त्रणका लागि सरकार थप जिम्मेवार हुनु पर्ने बताएका हुन् । 

गृहमन्त्री थापाले महिला तथा बालिकामाथि हुने बलात्कार, हत्या लगायतका ९० प्रतिशत घटनाको छानबिन गरी दोषिलाई कारबाही गरिसकेको बताउँदै कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको दोषिलाई पनि छिट्टै कानुनी कठघरामा ल्याउने आवश्वासन महिला नेतृहरुलाई दिएका छन् । 

नेकपाका नेतृहरुले महिला र बालबालिकामाथि बढ्दो जघन्य अपराधका घटना नियन्त्रणका लागि ठोस कदम चाल्न गृहमन्त्री थापालाई आग्रह गर्दै पीडित पक्षलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न समेत माग गरेका छन् । 

शुक्रबार बिहान गृह मन्त्रालय पुगेका उनीहरुले पीडितलाई न्याय दिन र पीडकलाई फाँसीको  व्यवस्था गर्न माग गरेका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा प्रदेश ३ की सांसद अष्टलक्ष्मी शाक्यले गृहमन्त्री थापालाई ध्यानाकर्षण पत्र बुझाउँदै बढ्दो महिला तथा बालिकामाथि हुने गरेका हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुनै नदिने गरी ठोस कदम चाल्न आग्रह गरे । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?