काठमाडौं । पछिल्लो पाँच महीनामा जबर्जस्ती करणी, करणी उद्योग, बहुविवाह, बालविवाह, घरेलु हिंसा र अवैध गर्भपतनजस्ता लैङ्गिक हिंसाका घटनामा वृद्धि भएको छ ।
२०७५ वैशाखदेखि भदौसम्म जबजस्ती करणी ७ सय १०, जबर्जस्ती करणी उद्योग ३ सय ९१, बहुविवाह ३ सय ४०, बालविवाह ४०, घरेलुहिंसा पाँच हजार ४ सय १७ र अवैध गर्भपतन १० वटा घटना प्रहरीकहाँ दर्ता भएका थिए ।
प्रतिनिधिसभा, महिला र सामाजिक समितिको आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सो जानकारी दिँदै लैङ्गिक हिंसाका घटनामा वृद्धि हुनु चिन्ताको विषय रहेको बताए । उनले लैङ्गिक हिंसा अन्त्य गर्न प्रतिनिधिसभाले पारित गरेका सङ्कल्प प्रस्तावलाई कार्यान्वयनमा उतार्न मन्त्रालयले ध्यान दिएको चर्चा गर्दै यसका विरुद्ध अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।
उनका अनुसार सातवटै प्रदेशका सबै स्थानीय तहमा पुग्ने गरी यही असोज २० गते कञ्चनपुरबाट अभियानको शुभारम्भ गरिनेछ । अभियानमा लैङ्गिक हिंसाविरुद्धका सचेतनाका कार्यक्रम सञ्चालन गरिने छ ।
बैठकमा सांसद नारायण खतिवडाले लैङ्गिक हिंसाविरुद्ध सामाजिक अभियान सञ्चालन गर्न आवश्यक रहेको चर्चा गर्दै हिंसा गर्नेमाथि कडा कारवाही गरिनुपर्छ भने । सांसद गणेश ठकुन्नाले केन्द्रीय, प्रादेशिक तथा स्थानीय तहबाट समन्वय गरी लैङ्गिक हिंसाविरुद्धका कार्यक्रम सञ्चालन गर्दा बढी प्रभावकारी हुने सुझाव दिए ।
सांसद कृष्ण राईले सामाजिक परिवर्तन र सांस्कृतिक रुपान्तरण गर्न लैङ्गिक हिंसाविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । सांसद गङ्गा चौधरीले आफूभन्दा ठूलालाई आदर र सानालाई माया गर्ने नैतिक शिक्षामा कमी हुन जाँदा लैङ्गिक हिंसाका घटनामा वृद्धि भएकोतर्फ ध्यान दिन आग्रह गरे । समितिका सभापति निरु पालले लैङ्गिक हिंसाविरुद्ध कार्ययोजना बनाई काम गर्नुपर्छ भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया