पत्रकार स्वागतको शुद्धिकरण अभियान असोज १६ बाट

काठमाडौं । पत्रकार तथा अधिबक्ता स्वागत नेपालले भ्रष्टाचार र घुसखोरी विरुद्ध मुलुकभर शुद्धिकरण अभियान सञ्चालन गरेका छन् । 

स्वतन्त्र राष्टिय अभियान नेपालका संयोजक समेत रहेका पत्रकार नेपालले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि भ्रष्ट राजनीतिज्ञ, कर्मचारी, पत्रकार, अधिबक्ता र उद्योग व्यवसायीहरु विरुद्ध यस्तो अभियान सञ्चालन गरिएको बताएका हुन् । 

विभिन्न पेशा तथा व्यवासयमा आवद्ध सबैको स्रोत नखुलेको सम्पति जफत गरी राष्टिय करण गर्नुपर्ने, सेवा निवृत कर्मचारी तथा प्रशासकहरुको पेन्सन र भत्ता लगायतका सेवा सुविधा बन्द गर्नुपर्ने माग उनको छ । 

करीव १२ बुदेँ अभियान घोषणा पत्र सार्वजनिक गर्दै उनले वर्तमान संविधानमा सांसदहरुलाई मन्त्री र प्रधानमन्त्री बन्न पाउने व्यवस्था खारेजीको माग गरिएको छ । जनताको ५१ प्रतिशत मत प्राप्त गर्ने राजनीतिक पार्टीले मात्र सरकार गठन गर्न पाउने व्यवस्था राख्न माग गरिएको छ । 

भ्रष्टाचारी, ठेकेदार, पूर्वकर्मचारी, सरकारी कर्मचारी र उद्योग ब्यवसायीहरुलाई आर्थिक चलेखलमा सांसद बनाउने परिपार्टीको अन्त्य गरिनुपर्ने, निर्वाचनमा बाँचा गरेका प्रतिवद्धता कायम नगर्नेहरुलाई कारवाही गर्नुपर्ने माग अभियानको छ । 

समावेशीका नाममा पहुँच भएकाहरुको मात्र हालीमुहाली हुने भएकाले एक पटक समावेशी तथा आरक्षण कोटामा अवसर पाइसकेको व्यक्तिलाई पटक–पटक आरक्षण तथा समावेशीको अवसर दिन नहुने माग गरेको छ । 

शिक्षा, स्वास्थ्य लगायत सार्वजनिक सेवाका क्षेत्रमा देखिएका एकाधिकार अन्त्य गरिनुपर्छ भन्दै संयोजक नेपालले धर्मनिरपेक्षताले अधर्मीहरु जन्माएकाले धर्मका विषयमा राज्य गम्भीर हुनु पर्ने बताएका छन् । 

सो अभियानले मुलुकको शुद्धिकरणका लागि भन्दै यही असोज १६ गतेबाट ७७ वटै जिल्लामा क्रमस यो अभियान फैलाउने तयारी भइरहेको जानकारी त्यस अवसरमा दिएको हो । पत्रकार सम्मेलनमा पत्रकार तथा कानुन ब्यवसायीहरुको उपस्थिति रहेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?