दशैँअघि प्रदेशका संरचना बनिसक्छन्: मन्त्री घिमिरे

फिदिम । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले दशैँअघि नै प्रदेश सरकारका आफ्नै संरचना विस्तार भइसक्ने बताएका छन् । हालसम्म आफ्नै संरचना नभएका कारण प्रदेश सरकारका काम कारवाही प्रभावकारी हुन नसकेको मन्त्री घिमिरेले जानकारी दिए ।

आज फिदिममा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री घिमिरेले प्रदेश सरकारलाई हालसम्म मन्त्रालय व्यवस्थित गर्न समय लागेको जानकारी दिए । मन्त्री घिमिरेले भने, “अब प्रदेश सरकारका अङ्गलाई विस्तार गरेर सुशासन, विकास र सहज सेवा प्रवाहमा केन्द्रित हुन्छौँ ।” 

उनले बिहीबार शिक्षा र स्वास्थ्यको प्रादेशिक निर्देशनालय धनकुटामा स्थापना हुन लागेको जानकारी दिए । आफ्नै संरचना निर्माण भएपछि प्रदेश सरकार बजेट कार्यान्वयनमा लाग्ने उनले बताए । फरक प्रसङ्गमा मन्त्री घिमिरेले प्रदेश नं १ को स्थायी राजधानी र प्रदेशको नाम चाँडै टुङ्गिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?