आजबाट बजेटमा तोकिएका बाहेक नयाँ कार्यक्रम गर्न नपाईने

लोकपथ
0
Shares

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका नयाँ आयोजना तथा कार्यक्रम सञ्चालनमा आइतबारदेखि रोक लगाएको छ ।

निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका कुनैपनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । उनकाअनुसार नयाँ योजना र कार्यक्रमले मतदातालाई प्रभावित पार्न सक्ने तथा समग्र निर्वाचनको निष्पक्षता र तटस्थतामा समेत प्रत्यक्ष असर पार्न सक्ने भन्दै नयाँ योजना र कार्यक्रममा रोक लगाईएको हो ।

‘मतदातालाई प्रभावित पार्ने एवम निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्ने निर्वाचन पुर्वाधार विकास कार्यक्रम वा पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका कुनैपनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन तथा कार्यान्वयन नगर्न नगराउन नेपाल सरकार, सात वटै प्रदेश सरकार र ७५३ वटै स्थानीय तहहरुलाई आयोगले निर्देशन दिएको छ’ आयोगद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

आयोगका अनुसार ‘विपद् वा महामारीको पूर्व तयारी वा कुनै विपद्को अवस्था परी विपद व्यवस्थापन सम्वन्धी कार्य गर्नुपर्ने वा मानवीय सहायता प्रदान गर्नुपर्ने वा स्वास्थ्य महामारीको अवस्थामा सोको सामना गर्न आवश्यक उपाय अवलम्बन गर्नुपर्ने विषय’ मा भने सो निर्देशन लागू हुनेछैन ।

‘सो बाहेक कुनैपनि प्रकारको नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन तथा कार्यान्वयन नगराउन तीनै तहका सरकारलाई आयोगले निर्देशन दिएको छ’ प्रवक्ता पौडेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ । तर, यसअघि नै बजेटमार्फत् घोषणा गरिएका योजना तथा कार्यक्रम भने यथावत् रुपमा सञ्चालन गर्न सकिने आयोगको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?