नारायणघाट र हेटौँडा बन्यो ‘ड्रग्स’ को ट्रान्जिट प्वाइन्ट, भारतीय नागरिक बढी सक्रिय

काठमाडौँ । संघीय गणतन्त्र नेपालको केन्द्रीय राजधानी काठमाडौं उपत्यकामा प्रत्येक दिन लागूऔषध कारोबारमा संलग्न गिरोह पक्राउ पर्ने गर्छन् ।

असोज महिना शुरु भएको १ गतेदेखि १० गतेसम्म १० जना भन्दा बढी व्यक्तिहरु ब्रुप्रोनर्फिन, डाइजेपाम र फेनारगनको एकहजार भन्दा बढी एम्पुल सहित पक्राउ परेका हुन् ।  

विशेष गरी नेपालमा उत्पादनदेखि विक्री वितरणमा प्रतिबन्धित औषधिजन्य (मेडिकल ड्रग) यो लागूऔषध राजधानी काठमाडौंमा प्रत्येक दिन भित्रिने गरेको पाइन्छ ।

चरेश र गाँजा नेपालमै उत्पादित लागूऔषध हो । तर, यो मेडिकलजन्य लागूऔषध भने छिमेकी राष्ट्र भारतबाट आउने गरेको प्रहरी स्रोत बताउँछ ।

चाडबाडमा बढी चलायमान

लागूऔषध कारोबारमा संलग्न समूहहरु चाडबाडमा बढी चलायमान हुने गरेका छन् । चाडबाडका कारण सुरक्षा निकाय तथा सर्वसाधारण किनमेल तथा शान्तिसुरक्षाको अन्य पाटोतिर व्यष्त रहेका बेला यस्ता समूह सक्रिय हुने गरेका हुन् । 

दशैं, तिहार र छठका बेला दुव्र्यसनी तथा प्रयोगकर्तासँग पनि नगद जम्मा हुने भएकाले यस्ता समूहले चाडबाडलाई ‘अवसर’ का रुपमा प्रयोग गर्ने गरेको महानगरीय प्रहरी कार्यालयका प्रमुख मनोज न्यौपाने बताउँछन् । 

उनीहरुले पूजाका सामाग्रीदेखि गाडीका पार्टपुर्जा, इलोक्ट्रोनिक सामग्रीहरु भित्र लुकाएर लागूऔषध निर्यात गर्ने गरेको थुप्रै उदाहरण रहेको उनले बताएका हुन् । 

खुला सीमाना

नेपाल र भारतबीचको खुला सीमानाका कारण औषधिजन्य लागूऔषध भारतबाट नेपालमा सहजै रुपमा भित्रिने गरेको पाइएको छ । 

प्रहरी नायव उपरीक्षक कुलदीप चन्दका अनुसार यस्ता लागूऔषधको बजार नेपालमा व्यापक रहेकाले थोरै मात्रामा नभई गाडीबाट नै ठूलो मात्रामा लागूऔषध भित्रिने गरेको छ ।

ब्रुप्रोनर्फिन, फेनारगत र डाइजेपामको मिश्रणबाट एक पटकलाई एक डोज लागूऔषध उत्पादन हुने गर्छ ।

अन्य लागूऔषध भन्दा योप्रति एम्पुल दुईसय रुपियाँमा खरिद गर्न सकिने भएकाले यो लागूऔषध नेपालका लागूऔषध दुव्र्यसनीहरु माझ लोकप्रिय बन्दै गएको हो । 

चितवन र मकवानपुर मूलमार्ग 

प्रहरी अधिकारी भन्छन्, ‘खुला सीमानाका कारण मेडिकलजन्य लागूऔषध सहजै रुपमा नेपाल भित्रिए पनि काठमाडौंसम्म पुग्न नदिन चितवनको नारायणघाट र मकवानपुरको हेडौँटामा नाकाबन्दी गरे नियन्त्रण गर्न सकिन्छ ।’ 

भरतपुर–नारायणघाट प्रयोग गरी सञ्चालन हुने सवारी साधनहरु मोटरसाइकलदेखि बसमा समेत काठमाडौँका लागि लागूऔषध सप्लाइ हुने गर्छ । 

त्यस्तै हेटौँडा बजारमा नाका लागूऔषध ओसारपसारविरुद्ध नाकाबन्दी लगाएमा नियन्त्रण गर्न सहज हुने अपेक्षा गरिएको छ । सोही मार्ग हुँदै काठमाडौंसम्म लागूऔषध भित्रिने गरेको पनि पाइएको छ ।

हिरोइन, अफिम लगायतका उच्च र महङ्गो लागूऔषध नेपाली लागूऔषध प्रयोगकर्ताले खरिद नै गर्न सक्दैनन् । केन्द्रीय लागूऔषध ब्युरोका अनुसार चरेस र गाँजा धेरै कमले मात्र प्रयोग गर्छन् ।

किशोर उमेरका युवाहरुमा सबैभन्दा बढी प्रयोग हुने भनेको नै भारतबाट अवैध रुपमा आयात हुने मेडिकलजन्य लागूऔषध नै हो । 

नेपालको चरेस भारतमा

नेपालबाट उत्पादित चरेश पनि सोही मार्ग हुदै भारत निर्यात हुने गरेको पाइएको छ । केही दिनअघि प्रहरीले भारत निर्यातका लागि लुकाइ राखेको ठूलो मात्रामा लागु औषध चरेश सहित दुई जनालाई पक्राउ गरेको थियो । 

भारतीय नम्बर प्लेटको जे एस ०४ वि ०४४५ नम्वरको टाटा सुमोमा लुकाई छिपाइ भारत लैजान लागेको अवस्थामा झण्डै एक क्विटल चरेश प्रहरीले वरामद गरेको  हो । 

यो चरेश धादिङ्ग र मकवानपुरको विभिन्न ग्रामीणक्षेत्रवाट संकलन गरी भारत तर्फ लैजान लागिएको अवस्थामा पक्राउ परेको हो । 

यस्तै मकवानपुर प्रहरीले पनि ११० केजी चरेश हटौडावाट वरामद गरेको थियो । चितवनको जस्तै  भारतिय नम्वर प्लेटको टाटा सुमोमा भारत तर्फ लैजादै गरेको अवस्थामा उक्त चरेश पक्राउ परेको हो । 

भारतीय नागरिकको संलग्नता अधिक 

लागूऔषधको कारोवार तथा ओसार पसारमा भारतीय नागरिकको संलग्नता बढी देखिएको छ । 

उनीहरु औषधि जन्य लागू औषध लिएर नेपाल आउने र नेपालबाट चरेश लिएर भारत जाने गरेको पाइन्छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशिलसिंह राठौर भन्छन्, ‘लागूऔषधको दुव्र्यसन भयावह बन्दै गएको छ ।’

सिरिन्जबाट प्रयोग हुने लागूऔषधको उत्पादन भारतमा हुने भएकाले त्यस्ता औषधिहरु चोर बाटो प्रयोग गरी नेपाल भित्रिने गरेको उनले बताए । 

धर्मका नाममा आपराधिक कर्म 

भारतबाट भगवान पशुपतिनाथको दर्शन गर्न आउनेदेखि मुक्तिनाथ दर्शन गर्न जानेसम्मका व्यक्तिले बाटो खर्च जुटाउने नाममा झोलामा लागूऔषध बोकेर ल्याउने गरेका छन् ।

केही दिनअघि नागढुङ्गाबाट पाँचसय एम्पुल भन्दा बढी लागूऔषधसहित पक्राउ परेका व्यक्तिले आफूहरु भगवान् पशुपतिनाथको दर्शन गर्न आएको बताएका थिए । 

तर पनि प्रहरीले उनीहरुमाथि शंका लागि झोला खानतलासी गर्दा लागूऔषध बरामद भएको थियो । सार्वजनिक यातायातका साधनहरु बस, माइक्रो र टाटा सुमो प्रयोग गरी उनीहरु अन्य यात्रुजस्तै गरी काठमाडौं भित्रिने गर्छन् । 

प्रहरी अधिकारीका अनुसार निश्चित स्थानमा सम्बन्धित व्यक्तिलाई बोलाई सामान जिम्मा लगाएर भाग्छन् । लागूऔषध बोकेर आउने र काठमाडौंमा बुझ्ने व्यक्तिबीच चिनजान समेत हुँदैन । 

यसरी प्राप्त भएको लागूऔषधको मूल्य भने हुण्डीमार्फत मुख्य व्यक्तिले त्यसअघि नै प्राप्त गरिसकेको हुन्छ । प्रहरी नायव उपरीक्षक अपील बोहरा भन्छन्, ‘प्रहरीको अनुसन्धानभन्दा लागूऔषध तस्करको नेटवर्क तगडा भएकाले पक्राउ गर्न त्यति सहज नभएको हो ।’

आपका गए न बापका गए 

लागूऔषध भित्र्याउन सक्रिय भारतीय गिरोहले काठमाडौंलाई लागूऔषधको मुख्य मार्केट बनाउन थालेका छन् । प्रत्येक दिन मेडिकल जन्य लागूऔषधको पक्राउले यसलाई पुष्टि गरेको छ । 

महानगरीय प्रहरी वृत्त, कमलपोखरीले पक्राउ गरेका एक लागूऔषध तस्करले नेपालमा लागूऔषध विक्री वितरण गर्दा ‘आपका न बापका’ जाने भएकाले विशेष गरी काठमाडौंलाई लक्षित गरेको बयान प्रहरीलाई दिएका थिए । 

युवा जनशक्तिलाई लागूऔषधमा चुर्लुम्म डुबाउने र एचआइभी एड्सजस्ता प्राणघातक रोगको संक्रमण, हेपाटाइटिस बी जस्ता रोग फैलाई आयआर्जन गर्ने मुख्य ध्येय रहेको पाइन्छ । लागूऔषध कारोवारी बारम्बार दोहोरिएर पक्राउ पर्छन्

आर्थिक वर्ष ७४/७५ मा लागूऔषध कारोबार तथा ओसारपसार सम्बन्धि ७ सयभन्दा बढी      मुद्धा दर्ता भएका छन् । यो अवधिमा एकहजार भन्दा बढी पक्राउ परेका छन् । कोही बारम्बार दोहोरिएर पनि आएका छन् । 

लागूऔषध कारोवारलाई पेशाको रुपमा अपनाउँदै आएकाहरु अदालतबाट सजाय भुक्तान गरी तथा धरौटी राखेर छुट्ने गर्छन् । सोही अपराधमा संलग्न रहेको अवस्थामा फेरि पक्राउ पर्छन् । 

बरामद लागूऔषधको मात्रा 

चरेश                करीब ४४७ किलो ४८० ग्राम
गाँजा                 ११० किलो ३०६ ग्राम             
डाइजो पाम            २१४० एम्पुल                      
व्रुप्रिनोर्फिन             २११७ एम्पुल                       
फेनारगन               २१४० एम्पुल                       
म्रफाइन               १०० एम्पुल            
स्टागन                 १६० एम्पुल
खैरो हिरोइन            २०.५२ ग्राम
नाइट्रेजेपाम            ४०१० ट्यावलेट                         
क्लोनाइजेपाम           १४८० ट्यावलेट
लोर्जेपाम               १४२० ट्यावलेट
स्पामसो प्रोक्सोभाम       २५२ क्याप्सोल                        
कोरेक्स                  १४० लिटर ६०० एमएल               
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?