रौतहट- रौतहट प्रहरीले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ गर्न टोली खटाएको छ । प्रहरीले पटक–पटक बोलाउँदा पनि अटेरी गरेपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
कन्स्ट्रक्सनले समयमा पुल निर्माण नसकेकै कारण गौर–४ टिकुलिया घाटमा डुंगा दुर्घटना भएको भन्दै पीडितले किटानी जाहेरी दिएपछि प्रहरीले रौनियारलाई सोधपुछका लागि बोलाएको थियो । भदौ ९ गतेको उक्त घटनामा पाँच जनाको मृत्यु भएको थियो । प्रहरीले कन्स्ट्रक्सनका संरक्षक सांसद हरिनारायण रौनियारसित पनि सम्पर्क गरेको थियो ।
जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले निर्माणाधीन पुल र डुंगा दुर्घटनाबारे सोधपुछका लागि बोलाउँदा अटेरी गरेकाले रौनियारलाई पक्राउ पुर्जी जारी गरिएको बताए ।
‘पीडितले नै किटानी जाहेरी दिएपछि हामीले उहाँहरूसित सम्पर्क गरी केही कुरा बुझ्नु छ भनेका हौं,’ उनले भने, ‘तर अटेर गरेर बसेको पाइयो । त्यसैले अदालतबाट आदेश लिएर पक्राउ गर्न टोली खटाएका हौं ।’ रौनियारको स्थायी ठेगाना वीरगन्ज भएकाले त्यहीँको प्रहरीसित समन्वय गरिने ढकालले बताए । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया