प्रदेश नम्बर २ को सरकार संकटमा

काठमाडौ : प्रदेश नम्बर २को सरकार संकटमा फस्दै गएको छ । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको संयुक्त सरकार प्रदेश नम्बर २ रहेको छ ।

संघीय समाजवादी फोरमको आन्तरिक राजनीतिमा हुने परिवर्तनले विद्यमान प्रदेश सरकार संकटमा फसेको पार्टी भित्रका नेताहरूले बताएका छन् ।

फोरम प्रदेश नम्बर दुईको जिम्मेवारी पाएकी पार्टी उपाध्यक्ष रेणु यादवले अध्यक्षको निर्देशन विरूद्ध गएर असोज ३ गते कालो दिवस मनाएर कार्यकर्तालाई गोलबन्द गरिन् । 

पार्टीले औपचारिकरूपमा असोज ३ गतेलाई नविरोध न समर्थनको नीति लिएको थियो । तर रेणु यादवले त्यसलाई लत्याएर कालो दिवस मनाउने घोषणा गरेकी थिइन् ।

प्रदेश नम्बर २का मुख्यमन्त्री लालबाबु राउतले  रेणुलाई साथ दिए । मुख्यमन्त्री राउतले साथ दिएपछि अध्यक्ष उपेन्द्र यादवलाई तत्काल कारबाही गर्न समस्या भयो ।

अनि चीची पनि पापा पनि शैलीमा अध्यक्ष यादवले भने “ प्रदेशमा के भइरहेको छ त्यो थाहा छैन् । प्रदेश कमिटी स्वतन्त्र छ ।”

कतिपयले यसलाई यादव दुवै डुंगोमा खुट्टो हालेको भन्छन् । कतिपयले पार्टी भित्र उठेको विद्रोहीहरूलाई तह लगाउन उचित समयको पर्खाइ ‘टाइम बार्गेन’को नीति भएको बताएका छन् ।

पार्टी निकटका अनुसार यादवले  जुनसुकै अवस्थामा पनि राजनीतिलाई आफ्नो पकडबाट बाहिर जान नदिने मौका मिलाइ रहेका छन् ।

रेणु अध्यक्ष यादव निकट नै मानिएकी थिइन् । पछिल्लो समय यादवसँग दूरी बढ्दै गएको पार्टी निकटकाहरूको भनाइ छ ।

पूर्वमन्त्री रेणुले आफ्नो छोरोलाई प्रदेश नम्बर २को सरकारमा सामेल गराउन चाहेकी थिइन् ।अध्यक्ष यादवले यो कुरो मानेन् ।

त्यतिबेला देख अध्यक्ष यादव र उपाध्यक्ष यादवबीच दूरी बढेको पार्टीका नेताहरूको भनाइ छ।

हालै रेणुलाई सहयोग गरेपछि मुख्यमन्त्री राउतसँगको दूरी पनि अध्यक्षको बढेको छ ।

राउतले अध्यक्षलाई संविधान संशोधन नभएसम्म सरकारमा जान नहुने दबाब दिइरहेका थिए ।

तर अध्यक्ष यादवले दुई बुँदे सम्झौता गरी सरकारमा सहभागी हुने निर्णय गरे ।

संशोधन नभएर सरकारमा जाँदा फोरमको प्रतिष्ठामा ह्रास आएको राउत–रेणुलगायतकाहरूको बुझाइछ ।

अध्यक्ष यादव पक्षधरले सरकारमा जाने निर्णय नगरेको भए राजपा सरकारमा जाने सम्भावना बढेको थियो ।

यादव पक्षधरहरूका अनुसार राजनीति सधैं आन्दोलन मात्रै होइन् । जनतालाई सेवा उपलब्ध गराउनुपर्ने काम पनि हुन्छ ।

सरकारमा भए जनतालाई केही दिन सक्ने बाटो बनेको हुन्छ । नभए त्यो गाह्रो हुन्छ । त्यसैले सरकारमा जाने निर्णय गरिएको हो ।

फोरमले संघीय सरकारमा बस्ने अवस्था थप बलियो पार्ने योजना बनाइरहेको पार्टी निकटहरूको बुझाइ छ ।

प्रदेश नम्बर २को सरकारमा फोरमले नेकपालाई सामेल गराउने योजना बनाएको छ । त्यसैगरी नेकपाले राजपालाई सरकारमा सामेल गराउने योजना बनाएको छ ।

राजपा सरकारमा जान तयारी अवस्थामा रहेको छ । त्यसका लागि राजपाले संविधान संशोधनको माध्यमले असन्तुष्टि पूरा गर्नुपर्ने माग अगाडि सारेको हो ।

यो माग सक्दो छिट्टो पूरा गर्ने योजना बनिरहेको पार्टी निकट स्रोतको भनाइ छ ।

राजपालाई सरकारमा सामेल गराउनुको पछाडि सरकारलाई थप बलियो बनाउनु रहेको छ ।

संविधान संशोधनको विषय मंसिरसम्म टुंगिन सक्ने सम्भावना रहेको छ । त्यतिबेलासम्म प्रदेश नम्बर २को सरकारमा फेरबदल हुन सक्ने छ ।

यो सम्भव भए फोरम अध्यक्ष यादवले हाल पार्टी भित्र देखिएको गडबडीलाई ठिकठाक पार्ने अवसर प्राप्त गर्न सक्नेछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?